कालोबजारी गर्ने ५६८ फर्मलाई जरिवाना, ३ करोड राजश्व संकलन

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ ।

 

गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौं उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

 

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उपत्यकाका ४७० र बाहिरका ९८ फर्मबाट कारवाहीस्वरुप रु दुई करोड ८९ लाख ७ हजार राजश्व संकलन भएको छ ।

 

उनका अनुसार काठमाडौं उपत्यका र उपत्यका बाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो ।

 

विभागको तथ्यांकानुसार १० महिनामा बजार अनुगमका क्रममा खान अयोग्य तथा म्याद सकिएका १ करोड ५५ लाख ४३ हजार ३०३ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो ।

 

त्यस्तै अनुगमनका क्रममा ४२९ फर्म सामान्य अवस्थामा रहेको तथा ६४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सूचना अधिकारी आचार्यका अनुसार १४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएकोे थियो ।

 

सोमा उपत्यकाका १३७ र बाहिरका ६ छन् । तिनमा उपत्यकाकाका लकडाउन अवधिका नौ फर्म छन् । त्यस्तै दश फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको जनाइएको छ ।

 

सरकारले गत गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको भन्दै विभागले ६४ फर्मलाई जरिवाना गरेर ८६ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

 

बन्दाबन्दी मौका छोपी खाद्य र पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको भन्दै विभागले ती फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको छ ।

 

लकडाउन अवधिमा काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले उपभोक्ताबाट बढी शुल्क लिने गरेको भन्दै स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरिँदै आएको छ ।

 

लकडाउन अवधिमा उपभोक्ताबाट गुनासो आएको भन्दै विभागले ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार र थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो ।

 

विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर दैनिक बजार अनुगमन गर्दै आएको छ । चार वर्षदेखि नै टोल फ्री नम्बर सञ्चालन गर्दै आएको भए तापनि लकडाउन अवधिमा धेरै गुनासो आएको विभागका अधिकारी बताउँछन् । बिहान ८ देखि बेलुका ८ बजेसम्म विभागले उक्त नम्बरमा आएको गुनासो सम्बोधन गर्दै आएको छ ।रासस

कोरोनाले वाणिज्य बैंकको नाफामा ब्रेक, १ दर्जन बैंकको नाफा घट्यो (तथ्यांकसहित) Read Previous

कोरोनाले वाणिज्य बैंकको नाफामा ब्रेक, १ दर्जन बैंकको नाफा घट्यो (तथ्यांकसहित)

जापानबाट ईसेवा मनिट्रान्सफरको सेवा सुरु Read Next

जापानबाट ईसेवा मनिट्रान्सफरको सेवा सुरु