काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ ।
लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ ।
डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज २०० किलोलिटर पेट्रोल र ५०० किलोलिटर डिजेल खपत भएको छ । उनका अनुसार लकडाउन अवधिमा दैनिक ८० किलोलिटर पेट्रोल र २०० किलोलिटर डिलेज खपत हुँदै आएको थियो ।
टाइम कार्ड लागू गरेर सवारी साधन सञ्चालन गरेसँगै पेट्रोलियम पदार्थको खपतमा वृद्धि भएको उनले जानकारी दिए।उनका अनुसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५, डिजेल ७२ र मट्टीतेल ८० प्रतिशत मौज्दात छ । तिनमा ५ हजार ३१० किलोलिटर क्षमता रहेको पेट्रोल भण्डारणमा हाल ४ हजार ५ सय किलोेलिटर पेट्रोल राखिएको छ ।
त्यस्तै ८ हजार ४०० किलोलिटर क्षमता रहेको डिजेलको भण्डारमा हाल सात हजार किलोलिटर र ७६० किलोलिटर क्षमता रहेको मट्टीतेलमा हाल सात सय किलोलिटर राखिएको छ ।
क्षमता हुँदाहुँदै पनि भरी मात्रामा तेल राख्न नमिलेका कारण ट्याङकरमै तेल राखिएको उनले जानकारी दिए। उनका अुनसार हाल ३० ट्याङकरमा पेट्रोल र १०० ट्याङकरमा डिजेल डिपोमा राखिएको छ ।
लकडाउनअघिसम्म काठमाडौँ उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेल खपत हुँदै आएको थियो ।