काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले लकडाउनकै बीचमा विकास आयोजना, पशुपंक्षीपालन, कृषि, आपूर्ति लगायत उद्योग, व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि उद्योग सञ्चलान गर्न समस्या भएको बताएको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै लकडाउन खुकुलो पार्दा आपूर्ति व्यवस्था सामान्य बनाइराख्न र उद्योग, व्यवसायलाई सञ्चालन खर्च जुटाउन सहयोग पुगे पनि उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ नरहेको बताएको छ ।
उद्योगबाट उत्पादित वस्तु स्टकिस्ट, डिलर, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुर्याउनु पर्ने भएकाले अहिले त्यो सहज नभएको र उत्पादित वस्तु विक्री गर्न सक्ने अवस्था नरहेको संघको भनाइ ।
सरकारले सञ्चालन अनुमति दिएका उद्योगका उत्पादन ढुनानी गर्ने सवारीसाधनका लागि पास लिनुपर्ने बाध्यता रहेको र पास लिन पनि सम्बन्धित निकायसम्म पुग्नु पर्ने समस्या रहेको संघले बताएको छ ।
सरकारले खाद्य वस्तु बाहेकका उत्पादन ढुवानी गर्ने साधन सहजै चल्न पाउने, सेवा प्रदान गर्ने निकायसम्म सर्वसाधारण जान सक्ने र खुद्रा विक्री गर्ने विक्रेताका लागि समेत सहज हुने वातावरण तयार गर्न यो संघले जोडदार माग गरेको छ ।