काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना असरका कारण कारण निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताएका छन् ।
आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट कोरोना कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरणमा आधारित हुने उनको भनाइ छ ।
सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनले जानकारी दिए ।
संविधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, समृद्धिको यात्रामा प्राप्त भएको उपलब्धि एवं नागरिकलाई गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने मन्त्री खतिवडाको जोड छ ।
भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारे ।