काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले नाफामा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुदा नाफा ४९.९५ प्रतिशत वृद्धि गरेको छ ।
बैंकले चालू आवको चै मसान्तसम्ममा ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३० करोड ५१ लाख बढी हो । बैंकले गत आवको तेस्रो त्रैमाससम्म ६१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ रहेको छ भने सेयरधनी कोषमा ६६ करोड ७९ लाख रुपैयाँ र सेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ।
८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरण योग्य मुनाफा १३ करोड ४१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले ५८ अर्ब ७७ करोड निक्षेप संकलन गरी ५८ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९.८७ रुपैयाँबाट बढेर १४.५१ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १२९.७२ पैसा, मूल्य आम्दानी अनुपात १०.९६ गुणा, निष्क्रिय कर्जा १.५३ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ ।