काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । बैंकले गत आवको चैतसम्म २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार भएको देखिएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै निष्क्रिय कर्जामा पनि सुधार हुँदा खुद नाफा बढ्न पुगेको देखिन्छ।
चालू आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा २२ करोड १० लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ छ ।
तेस्रो त्रैमाससम्ममा बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ।
चैत मसान्तसम्म १ खर्ब १६ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब ८२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३२.९६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८४.५० रुपैयाँ छ । बैंकको खराब कर्जा अनुपात १.११ प्रतिशत, र मूल्य आम्दानी अनुपात १५.१७ गुणा र पूँजी कोष अनुपात १३.४२ प्रतिशत छ ।