काठमाडौं। राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमति गरेका छन् ।
बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहकार्य गर्ने सम्वन्धमा बैशाख १७ गते सहमतीपत्रमा हस्ताक्षर समेत गरेका थिए ।
दुवै संस्थाबीच वित्तीय सहकारीको स्थायीत्व र दिगो संचालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ । दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई व्यवस्थित र व्यावसायिक बनाउन सहकार्य गर्ने जनाएको छ ।
सहकार्य गर्नका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना सरोकारवालासँग गरेको भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबी उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देश भरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए ।
तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाइ छ । तरलता व्यवस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ ।
यसले नमूना परियोजना संचालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए ।
कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए । प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाइ छ । यो जोखिमपूर्ण काम भएपनि सहकारीको दिगो व्यवस्थापनका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ ।
तरलता व्यवस्थापनका लागि दुवै संस्थाले विपद् व्वस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले १ अर्ब र नेफ्स्कूनले १० करोड रुपैयाँ जम्मा गरेको बताए ।
कोरोनाले नेपाल सहित विश्व नै संकटमा गुज्रिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरुको भनाइ छ ।