पेट्रोलको नाफा कोरोनासँग लड्न प्रयोग हुने, मूल्य नघटाउने मन्त्रीको घोषणा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने र त्यसबाट संकलन भएको रकम कोरोना भाइरससँग लड्न प्रयोग गर्ने भएको छ । उक्त कुराको जानकारी आपूर्ती मन्त्री लेखराज भट्टले दिएका हुन् ।

 

अहिले निगमले एक लिटर पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा नाफा लिइरहेको छ । हरेक महिनाको दुई पटक मूल्य समायोज गर्ने भन्दै आएको आयल निगमले लकडाउन पछि एकपटक मात्र मूल्य समायोजन गरेको छ । अहिले आयल निगमले इन्डियन आयल कर्पोरेशनसँग १३ रुपैयाँ ४० पैसामा पेट्रोल किनिरहेको छ । तर, उपभोक्ताले भने ९६ रुपैयाँ ७५ पैसा तिर्नु पर्छ ।

 

सरकारले एक लिटर पेट्रोलमा ४२ रुपैयाँ ७५ पैसा ट्याक्स लिदै आएको छ भने, ढुवानी वापत ६ रुपैयाँ खर्च लाग्ने आयल निगमले जानकारी दिएको छ । उता निगमले १३ रुपैयाँ १९ पैसामा किनेर ल्याएको डिजेल अहिले बजारमा ८५ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेलमा सरकारले विभिन्न शिर्षकमा २६ रुपैयाँ १५ पैसा कर लगाएको छ । ढुवानी खर्च डिजेलमा पनि प्रति लिटर ६ रुपैयाँ लाग्ने छ । यसरी प्रतिलिटर डिजेलमा २५ रुपैयाँ ५९ पैसा नाफा लिइरहेको छ ।

 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार निगमले पछिल्लो २ पटक मूल्य समायोजन नगरेको र तत्काल समायोजन नहुने बताए । तर, विश्व बजारमा तेलको मूल्य अझै घट्दै गइरहेको छ ।

 

पौडेलले हाल भारतले पनि मूल्य नघटाएकोले नेपालमा पनि तेलको मूल्य नघटाइएको बताए । ‘अहिले तत्काल मूल्य घटाइयो भने पछि फेरी बढ्दा जनतामा मार परे जस्तो हुन्छ, त्यसैले अहिले कुनै देशले पनि तेलको मूल्य घटाएका छैनन्,’ पौडेलले चाणक्य पोष्टसँग भने ।

खर्च धान्न नसक्ने भएपछि अमेरिकाले इतिहासकै धेरै ३० खर्ब डलर ऋण लिने Read Previous

खर्च धान्न नसक्ने भएपछि अमेरिकाले इतिहासकै धेरै ३० खर्ब डलर ऋण लिने

गभर्नर अधिकारीको सम्पत्ति : ललितपुरमा घर र जग्गा, १ करोड बढीको सेयर (विवरणसहित) Read Next

गभर्नर अधिकारीको सम्पत्ति : ललितपुरमा घर र जग्गा, १ करोड बढीको सेयर (विवरणसहित)