लकडाउन यता पौने ३ अर्बको औषधि आयात

काठमाडौं । लकडाउन शुरु भए यताका दिनमा करीब पौने ३ अर्ब रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म १ अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि, ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थसहित करिब १ अर्बको स्वास्थ्य सामग्री आयात भएको छ ।

 

मन्त्रालयको तथ्यांकानुसार १ लाख २३ हजार ६२७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १३१ मेट्रिक टन दलहन, ५२ हजार ४७९ मेट्रिक टन तरकारी, १६ हजार ८६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।

 

लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ । पहिलो हप्ताको तुलनामा पाँचौ हप्तामा खाद्यान्नमा १३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ ।

 

यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात ११८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ ।

 

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ ।

 

भित्रिए ७ सय ट्रक बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २५६ ट्रक भित्रिएको, २४७ ट्रक बाहिरिएको र ७१७ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११२ ट्रक बाहिरिएको र दुई हजार ९४६ ट्रक रोकिएका छन् ।

 

भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १४६ ट्रक भित्रिएको, १०५ ट्रक बाहिरिएको र १५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् ।

हटस्पट बन्दै नेपालगञ्ज : थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो Read Previous

हटस्पट बन्दै नेपालगञ्ज : थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

बैशाख मसान्त भित्र सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन Read Next

बैशाख मसान्त भित्र सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन