काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९ करोड ९६ लाख रुपैयाँले बढी हो। बैंकले गत आवको सोही अवधिमा ४९ करोड ६७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले समीक्षा अवधिसम्ममा २५ करोड निक्षेप संकलन गरी ५८ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै बैंकको अन्य बैंक तथा वित्तीय संस्थामा ३ अर्ब ३७ करोड रुपैयाँ संचित छ । विभिन्न कम्पनीको सेयरमा १२ करोड ५८ लाख रुपैयाँ लगानी रहेको छ ।
बैंकले ९२ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १० करोड ३१ लख रुपैयाँ बढी हो।
गत वर्षको चैत मसान्तसम्ममा बैंकले ८२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यसैगरी, चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ८५ करोड ९ लाख रुपैयाँ रहेको छ।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँ छ।
हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गर्ने तयारीमा छ ।