सेयर बजारका वादशाह भनेर चिनिने लगानीकर्ता वारेन बफेट सेयर बजारमा लगानी गर्नका लागि उपयुक्त समय कुरिबसेका हुन्छन्, सधैं । तर, यो वर्षको पहिलो त्रैमासमा आएको सेयर बजारको व्यापक गिरावटलाई उनले सेयर किन्ने राम्रो अवसरको रुपमा मानेनन् ।
कोरोना भाइरसले अमेरिकी अर्थतन्त्रलाई गाँज्न थालेपछि बफेटले सेयर बेचेर पैसा जम्मा पार्न शुरु गरेका छन् । मार्च महिनाको अन्त्यसम्म उनको कम्पनी बर्कशायर हाथवेले १ सय ३७ अर्ब अमेरिकी डलर जम्मा पारिसकेको थियो भने अप्रिल महिनामा थप ६ अर्ब डलरको सेयर विक्री गरेको थियो ।
यो महामारी सन् २००८ को आर्थिक मन्दी भन्दा धेरै अर्थमा फरक देखिएको छ, बफेटको क्रियाकलाप हेर्दा । उनको कम्पनीले सन् २००८ मा धेरै डुब्न लागेका कम्पनीहरुको सेयर आक्रामक रुपमा खरिद गरेको थियो ।
अहिले अमेरिकामा सेयर किन्ने बेला हो वा होइन भन्ने विषयमा केही बहसहरु भइरहेको छ । वारेन बफेटले भने किन्ने बेला भएको संकेत दिएका छैनन् । उनले अप्रिल महिनामा मात्र ६.१ अर्ब डलरको सेयर बेचेका छन् भने यो वर्षको पहिलो ३ महिनामा १.८ अर्ब डलरको मात्र सेयर खरिद गरेका छन् ।
‘एतिहासिक रुपमा उनी बजारमा यस्तो समयमा बजारमा आक्रामक ढंगले लागिरहेका हुन्थे । यसरी बजार घटेका बेला लगानीकर्ताहरुलाई लोभी हुन उनी सुझाव दिइरेहेका हुन्थे’, एक लगानीकर्ता भन्छन्,‘यदि अहिले बफेट आफ्नै सेयरमा समेत कुनै अवसर देखिरहेका छैनन् भने अरुको के कुरा गर्नु ।’
गत शुक्रबारसम्म बर्कशायरको पोर्टफोलियोमा रहको ‘ए’ क्लासका सेयरहरु १९ प्रतिशतले घटेका छन् । यो भनेको एस एण्ड पी ५०० भन्दा पनि बढी हो । एस एण्ड पी ५०० का सेयरहरु १२ प्रतिशतले घटेका छन् ।
बर्कशायरले लकडाउनका कारण र उडानमा प्रतिबन्ध लगाइएका कारण थन्किएका डेल्टा एयरलाइन्स र साउनवेस्ट एयरलाइन्सको सेयर विक्री गरेको तथ्यहरु सार्वजनिक गरेको छ ।
बफेट अहिले जोखिमको बारेमा आश्वस्त नभएका कारण सेयर खरिदलाई लिएर धेरै सचेत देखिएका छन् । उनको कम्पनीले पहिलो त्रैमासमा ४९.७ अर्ब डलर नोक्सानी व्यहोरेको छ ।