विमानसेवाले कोरोना भाइरससँग लड्दै कहिले र कसरी उडान सुरु गर्लान ?

उड्डयन क्षेत्र विश्वव्यापीमध्येको पनि विश्वव्यापी उद्योग हो। यसले लाखौँ मानिसलाई रोजगारी दिएको छ र करोडौँको रोजीरोटीको सहारा बनेको छ। उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय व्यापारको मेरुदण्ड मानिन्छ। अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण उड्डयन क्षेत्रको विशाल सञ्जाल बन्द भएको छ।

 

यो वर्ष सुरु भएयता दैनिक उडान सङ्ख्या ८० प्रतिशतले झरेको छ र धेरै क्षेत्रमा त यात्रुवाहक विमान नै सबै बन्द भएका छन्। उड्डयन क्षेत्रमा परेको असरले विश्वव्यापी रुपमै रोजगारीमा पनि असर पर्ने ठानिएको छ।

 

कोन्टसले आफ्ना २० हजार कर्मचारीलाई बिदा दिएको छ र अमेरिकन एअरलाइन्समा काम गर्ने ७ सय पाइलटहरूले छिट्टै अवकास लिन सहमत भएका छन्। त्यसबाहेक, ब्रिटिश एअरवेजको माउ संस्था आइएजीले १२ हजार पदहरू कटौती गर्न लागेको घोषणा गरेको छ।

 

विज्ञहरूका अनुसार सन् २०१९ कै तहमा यात्रुहरूको माग कैयौँ वर्षहरूसम्म रहने छैन। तर त्यसो हुँदाहुँदै, विश्वभरी कसरी सामान्य अवस्थामा फर्किन सकिएला भन्ने आशासहित विमान सेवा कम्पनीहरूको ध्यान विस्तारै भविष्यतर्फ आकृष्ट हुँदै गएको छ।

 

विमानले कहाँ उड्न पाउँछन् भन्ने अझै केही यकिन छैन र विमानस्थलका कर्मचारी र यात्रुलाई कस्ता शर्त तेर्साइन्छ भन्ने पनि कसैलाई थाहा छैन। विज्ञ र परामर्शदाताको विश्वव्यापी टोली असेन्ड बाइ सिरिअमका अनुसार हाल विश्वभरी करिब १७ हजार विमानहरू थन्किएका छन्।

 

पार्किङ स्थलमा थन्किएका भए पनि यी विमानहरूलाई नियमित मर्मतको जरुरत पर्छ। केहीलाई भने तत्काल प्रयोग गर्न मिल्ने गरी तयार अवस्थामा पनि राख्नुपर्छ।

 

उड्डयन क्षेत्रमा काम गर्नेहरूका अनुसार विमानलाई तयार अवस्थामा राख्नका लागि एक साता वा त्यो भन्दा बढी लाग्छ।

 

नियमित जाँच

 

उड्डयन क्षेत्र सञ्चालनमा आउनका लागि अर्को आवश्यक कुरा भनेकाे यसलाई चाहिने दक्ष जनशक्ति हो। खासगरी विमान उडाउनका लागि अनुमति पाउन पाइलटहरूले पनि पहिला केही समय उड्नुपर्छ। उनीहरूको स्वास्थ्यको नियमित जाँच हुनुपर्छ।

 

अन्य ट्राफिक नियन्त्रक र इन्जिनियर जस्ता अति आवश्यक कर्मचारीसँग पनि निश्चित समयसम्म मात्रै मान्य हुने योग्यता हुनु अर्को समस्या हो। धेरै विमानसेवा कम्पनी र विमानस्थलहरू मुख्य कर्मचारीहरूको प्रमाणपत्र अद्यावधिक गरिएको सुनिश्चित गर्ने प्रयास गरिरहेका छन् भने अन्यचाहिँ कामलाई निरन्तरता दिन सकिरहेका छैनन्।

 

कार्यकारीहरूका अनुसार बन्दोबस्तीका सामानसम्बन्धी यस्ता समस्याभन्दा पनि मुख्य समस्या भनेको विभिन्न देशले लगाएका यात्रा प्रतिबन्ध र ती प्रतिबन्ध कहिले हट्छन् भन्ने थाहा नहुनु हो। ‘हामी अहिले एउटा विश्वव्यापी योजना पुनस् सुरु गर्न खोजिरहेका छौँ,’ इन्टरन्याश्नल एअर ट्रान्सपोर्ट एशोसियसनका महानिर्देशक एलेक्सान्डर डि जुनियाकले भने।

 

‘विभिन्न देशहरूले कहिले र कसरी हवाई प्रतिबन्धहरू हटाउँछन् भन्ने नै मुख्य चुनौती हो।’

 

हवाई यात्रामा देखिएको यो मन्दी यो वर्षको मध्यभन्दा पनि बढी समयसम्म लम्बिने वा केही क्षेत्रमा त सन् २०२० को अन्त्यसम्मै हुने उनी ठान्छन्। प्रत्येक देशमा सुरुमा आन्तरिक विमान सेवाहरू खुल्ने र त्यसपछि कम दूरीका अन्तर्राष्ट्रिय सेवाहरू सञ्चालनमा आउने उनी बताउँछन्।

 

त्यसपछिमात्रै अन्तर्महादेशीय यात्रा सुरु हुन्छ सायद, यद्यपि उनी ‘त्यो विषयमा अझै कुनै समाधान ननिकालिएको’ स्वीकार्छन्।

 

सामाजिक दूरी

 

नियमित रुपमा उड्डयन क्षेत्र सञ्चालनमा आउनका लागि अनिश्चितता ल्याउने अर्को प्रमुख कारण भनेको सामाजिक दूरी कति कायम गर्नुपर्छ भन्ने हो। विमानस्थलभित्र मानिसहरू बस्ने क्षेत्र, सुरक्षा जाँचका लाम र समग्र विमानस्थल क्षेत्रमै मानिसहरू कसरी छुट्टिएर बस्छन् ।

 

ती मानिसमा कस्ता परीक्षण आवश्यक पर्छ र कसरी गरिन्छरु विमानस्थल र हवाइसेवा दुवैका लागि यो व्यापारिक मुद्दा हो। उदाहरणका लागि, विभिन्न सामानका पसल र रेस्टुरेन्टहरूले विमानस्थल सञ्चालकहरूलाई उल्लेख्य राजस्व तिर्छन्।

 

‘विमानबाट उठ्ने बाहेक अन्य क्षेत्रबाट उठ्ने राजस्व विमानस्थलका लागि साँच्चै महत्त्वपूर्ण हुन्छ,’ एअरपोर्ट अपरेटर्स एशोसियसनकी क्यारेन डीले भनिन्। ‘उनीहरूले हामीले विमान सेवा कम्पनीलाई तिर्न लगाउने पैसा घटाउन लगाउँछन् र अन्ततस् त्यसले यात्रुका लागि तोक्ने टिकट दरमा असर गर्छ।’

 

‘६ महिनामा खोप आउँछ र नयाँ कदमहरू केही पनि आवश्यक पर्दैन भने हामी सबै यी सबै कुरा विमानस्थलमै मिलाउने काम गर्न चाहँदैनौँ।’

 

आइएटिएले भने जुनसुकै कदम चालिए पनि त्यो उस्तै हुनुपर्ने र त्यसको कार्यान्वयन पनि संयोजित ढङ्गबाट हुनुपर्ने तर्क गरेको छ। ‘९/११ को जस्तै अवस्था नदोहोरियोस् भनेर सचेत रहन आवश्यक छ,’ डि जुनियाकले भने।

 

‘त्यतिबेला हामीले थुप्रै किसिमका सुरक्षा जाँचले जटिलता ल्याएको देखेका थियौं।’ विमान सेवा कम्पनीहरूलाई पनि कडा नियम लगाउन सकिन्छ-लुफ्थान्साले यात्राका क्रममा सामाजिक दूरी होस् भनेर बीचतिरका सीटहरू खाली खाली राख्ने गरेको छ।

 

यस्तो छोटो अवधिको उपायले यात्रुहरूलाई कम आत्मविश्वाससहित उडान भर्न मद्दत गर्न सक्छ तर यसले गम्भीर खतरा निम्त्याउन सक्छ। आम्दानी गर्नका लागि एअरलाइन्सहरूले प्रत्येक फ्लाइटमा सकेसम्म धेरै सिटहरू भर्नुपर्छ।

 

यदि विमानहरूले क्षमताको ६५ प्रतिशत यात्रु राखेर उडाए भने ‘यसले जसरी यो उद्योग चलिरहेको छ त्यो तरिका पक्कै पनि बदल्छ,’ डि जुनियाकले भने।

 

आकाशमा विमान फेरि उडाउनु भनेको सजिलो पक्ष हो तर त्यसमा उडाउनका लागि मानिस पाउनु भनेको चाहिँ निकै कठिन छ र उड्डयन बजारमा दीर्घकालीन परिवर्तन हुने सम्भावना धेरै छ।

 

पर्यटन उद्योगका एक कार्यकारीले भने, ‘मानिसहरू बिदा मनाउन अझै पनि चाहन्छन् र यो वर्षको अन्त्यतिर छोटो दूरीका गन्तव्यहरूमा मानिसहरू पक्कै पनि जाने छन्।’

 

तर विश्लेषकहरूका अनुसार बिजनेस क्लासमा यात्रा गर्नेहरू विषय फरक हो। बिजनेस क्लासमा यात्रा गर्नेहरूले राजस्वमा एक तिहाइमात्रै सहयोग पुर्‍याउँछन्।

 

तर फेरि आकाशमा विमानहरू फर्कन लाग्दा समग्र उड्डयन क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको यसको भविष्य कस्तो होला भन्ने कुरा कसैलाई पनि कुनै पनि तहमा थाहा छैन ।

– बीबीसी

विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरब आर्थिक संकटमा, विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै कम Read Previous

विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरब आर्थिक संकटमा, विदेशी मुद्रा सञ्चिती २० वर्ष यताकै कम

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता Read Next

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता