कोभिड-१९ बीमा कार्यक्रमप्रति बढ्दो आकर्षण

जुम्ला । ‘कोभिड–१९ विशेष बीमा कार्यक्रम’ सञ्चालनमा आएपछि जुम्लावासी उत्साहित भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यहाँका स्यानीय सङ्घसंस्था, सहकारी, व्यापारी र नागरिक कोरोना विशेष बीमा गर्न उत्साहित भएका हुन् ।

 

जुम्लाको सबैभन्दा पहिलो बहुउद्देश्यीस सहकारी संस्था चन्दननाथ सहकारीले आफ्ना ६५ कर्मचारीको ५०/५० हजारको कोरोना विशेष बीमा गरेको छ । त्यसैगरी कैलाश जनरल स्टोरले २० कामदार मजदुरको बीमा गरेको कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए । उनले भने, ‘हप्ता दिनमा जुम्लाका १५० जनाको कोरोना बीमा गर्न सफल भएका छौँ ।’

 

त्यसैगरी जिल्ला बचत सङ्घका व्यवस्थापक मीनबहादुर रोकायाले आफ्ना छ जना घरपरिवारको ५०/५० हजारको कोभिड बीमा गरेका छन् । चन्दननाथ नगरपालिका–४ का रत्नबहादुर हमालले छ घरपरिवार र वसन्त उपाध्यायले आफ्नो पाँच जना घरपरिवारको ५०/५० हजारको कोभिड–१९ विशेष बीमा गरेको शिखर इन्स्योरेन्स कम्पनी जुम्लाले जनाएको छ । एनआइसी एशिया मुगु शाखाका प्रबन्धक रामु शाहीले पनि आफ्नो छ जना घरपरिवारको कोरोना बीमा गरिएको जनाएको छ ।

 

जुम्लाका क्रियाशील पत्रकाहरुको पनि निःशुल्क ५०/५० हजारको कोरोना विशेष बीमा गर्ने तयारी गरेको प्रबन्धक पाण्डेले बताए । उनले यसका लागि नेपाल पत्रकार महासङ्घ जुम्ला शाखासँग समन्वय भइरहेको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसीआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक पाण्डेले जानकारी दिए।

 

व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्नेछन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

 

१ लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य ६०० लाग्नेछ । ५० हजारको बीमा गरेमा ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

 

संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एकजना कर्मचारीको एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी ६०० बीमा शुल्क लाग्ने प्रावधान छ । ५० हजारको बीमा गरेमा एक कर्मचारीको ५०० र कर्मचारी थप भएपछि प्रतिव्यक्ति ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले छ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।

 

यो बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनुपर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालयमा बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइएकोे छ ।रासस

डिशहोमको विद्यार्थीका लागि विशेष प्याकेज, टेलिभिजन मार्फत कक्षा संचालन गर्ने Read Previous

डिशहोमको विद्यार्थीका लागि विशेष प्याकेज, टेलिभिजन मार्फत कक्षा संचालन गर्ने

डाबर नेपालको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर बजारमा Read Next

डाबर नेपालको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर बजारमा