खानासँगै अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्दै फुडमाण्डु, डिजिटल व्यवसायमा गुणात्मक फड्को

काठमाडाैं ।  फुडमाण्डु नेपालको डिजीटल व्यवसायको क्षेत्रमा नयाँ नाम होइन । विभिन्न रेष्टुरेन्टहरुसँगको साझेदारीमा उनीहरुको खानालाई आफ्नो मोबाइल एपको साझा ‘प्लेटर्फम’ उपलब्ध गराएर ग्राहकहरुले आफ्नो औंला घुमाएको भरमा चाहेको रेष्टुरेन्टको मनपरेको खाना घर वा कार्यालयमै मगाउन सक्ने सेवा उपलब्ध गराउँदै आएको यो व्यवसाय नेपालमा आफ्नो क्षेत्रको पहिलो र हालसम्म सफल मानिएको व्यवसाय हो ।

 

कोरोनाको कारणले नेपाल सरकारले लकडाउन गरेपछि अबको समयका विभिन्न खाले डिजिटल सेवाहरुले थप गति लिने आंकलन भइरहेको छ ।

 

त्यसैको संकेत स्वरुप अन्य धेरै व्यवसायहरु बन्द हुँदा पनि फुडमाण्डुले भने आफ्नो सेवालाई केही हदसम्म चालू नै राख्न सकेको छ ।

 

लकडाउन अघि रेष्टुरेन्टको खानाहरुमा डेलिभरी गर्दै आएको यो कम्पनीले हाल तरकारी, फलफूल लगायत अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्न शुरु गरेको छ ।

 

हाल फुडमाण्डुले २० वटा रेष्टुरेन्टको खानाहरु रिङरोड भित्र डेलिभरी गर्दै आएको छ । घरको खाना मात्र खाएर दिक्क भएका ग्राहकहरुलाई मुख फेर्ने मौका दिनुको साथै अप्ठ्यारो समयमा समेत डिजिटल व्यवसायको प्रभावकारिता स्थापित गर्न सफल भइरसको छ अहिले फुडमाण्डु ।

 

‘लकडाउन अघि हामीले करिब ५०० वटा रेष्टुरेन्टहरुबाट दैनिक १ हजार जति डेलिभरी गरिरहेका थियौं’, बजार प्रमुख श्याम माली भन्छन्, ‘अहिले धेरै रेष्टुरेन्टहरु बन्द छन् त्यसैले हामी दैनिक २५० वटा जति मात्र डेलिभरी गरिरहेका छौं ।’

 

लकडाउन अघि आफ्नो खाना डेलिभरी सेवा भक्तपुरमा पनि विस्तार गरिसकेको भए पनि अहिले भने सेवा रिङरोडमा मात्र केन्द्रित गरेको छ फुडमाण्डुले ।

 

हाल २५–३० जना डेलिभरी ब्वायलाई फिल्डमा खटाएर र बाँकी प्राविधिक कर्मचारीहरुलाई घरबाटै काम गर्न लगाएर फुडमाण्डुले आफ्नो सेवा चालू राखिरहेको हो ।

 

कर्मचारीहरुको सुरक्षाको लागि मास्क सेनिटाइजर, पञ्जा इत्यादिको प्रयोग अनिवार्य गराइएको माली बताउँछन् । रेष्टुरेन्टहरुलाई पनि न्यूनतम सुरक्षाका उपायहरु अवलम्बन गर्न भनेको उनको भनाइ छ । साथै, सबै कर्मचारीहरुको १ लाखको कोरोना बीमा पनि गरेको उनले जानकारी दिए ।

 

अहिले अन्य अत्यावश्यक वस्तुहरु र खानाको अर्डरको लागि न्यूनतम १५ सय रुपैयाँको अर्डर गर्नुपर्दछ ।

अन्य धेरै व्यवसायहरु बन्द भएको समयमा पनि फुडमाण्डुले आफ्नो व्यवसाय मात्रात्मक रुपमा केही कम भए पनि गुणात्मक रुपमा भने विस्तार गरेको छ । अर्थात, खाना मात्र डेलिभरी गरिरहेको यो व्यवसायले अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी शुरु गरेको छ र यो स्थायी रुपमा नै गरिने कम्पनी स्रोत बताउँछ ।

 

वास्तवमा भन्ने हो भने अहिलेको लकडाउनले फुडमाण्डु मात्र नभएर अन्य डिजिटल व्यवसायहरुमा केही गुणात्मक असर पारिदिएको छ । अबको नेपालको व्यवसायीक संरचनामा डिजिटल व्यवसायले पनि महत्वपूर्ण हिस्सा ओगट्ने संकेत देखिन थालेको छ ।

अब फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने Read Previous

अब फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने

भारतमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै घट्यो, नेपालमा कस्तो पर्ला प्रभाव Read Next

भारतमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै घट्यो, नेपालमा कस्तो पर्ला प्रभाव