काठमाडौं । सरकारले जीवन बीमा शुल्क (प्रिमियम)संकलन गर्ने समय आगामी जेठ मसान्तसम्म थप गर्न बीमा समितिमार्फत बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
बैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधिमा संकलन गर्नुपर्ने प्रिमियम जेठ मसान्तसम्म संकलन गर्न म्याद थप्ने निर्णय गरेको हो । यस्तै यो अवधिसम्ममा लाग्ने ब्याज छुट दिन समेत सरकारले निर्देशन दिइएको छ।
यसअनुसार अब लकडाउन अवधि भित्र जीवन बीमाको प्रिमियम वापतको रकम भुक्तानी गर्नुपर्ने बीमितले जेठ मसान्तसम्म भुक्तानी गर्न समय पाएका छन्। यस निर्णयले जेठ मसान्तसम्म प्रिमिय भुक्तानी गर्दा ब्याज समेत तिर्नुपर्नेछैन।
बीमा समितिले यस अघि बीमा कम्पनीहरुलाई बैशाख मसान्तसम्म लकडाउन अवधिभर संकलन हुनुपर्ने बीमाशुल्क ब्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको थियो ।
यस्तै २०७६ चैत र ७७ बैशाखमा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता, सर्भेयरको लाइसेन्सको म्याद बढाएर असार मसान्तसम्म पुर्याउन र सो अवधिसम्म कुनै जरीवाना नलाग्ने व्यवस्था गर्न निदेशन दिइएको छ।
यस्तै निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई लकडाउनको अवधिभरी निरन्तरता दिएको छ।