कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाललाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । २५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश अदालतले दिएको हो ।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।
मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।
अग्रवाल ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ परेका हुन् । उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन समेत बरामद भएको थियो । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन् ।
सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।