अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का लाग्दै, दोस्रो त्रैमासमा ३० प्रतिशतले खुम्चिने अनुमान

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ ।

 

अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख छ ।

 

कोरोनाभाइरसका कारण सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो संकुचन हो । यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ ।

 

जनवरीदेखि मार्च महिनासम्मको अवधिमा अमेरिकी अर्थतन्त्र झण्डै ४.८ प्रतिशतले घटेको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले कोरोनाभाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनु पर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु खराब अवस्थामा पुग्ने संकेत गर्नु भएको छ ।

 

२ करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ । बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ ।

 

पावेलले हालको आर्थिक संकटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जोखिमपूर्ण दिर्घकालीन असर पर्ने जानकारी दिए ।

 

अमेरिकाका धेरै पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । ग्राहक र आम्दानीको अभावमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ, र आर्थिक मद्दत बेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन् । विश्लेषकहरुको भनाईमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ ।

 

नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको कोरोनाभाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १०० अर्ब डलर खर्च गर्नु पर्ने बताउँछन् । हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ ।
-एएनआई

घरभाडा छुट सँगै सुलभ ऋणको व्यवस्था गर्न होटल एशोसिएसन नेपालको माग Read Previous

घरभाडा छुट सँगै सुलभ ऋणको व्यवस्था गर्न होटल एशोसिएसन नेपालको माग

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा Read Next

कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा