काठमाडौं । नेपाल होटल एशोसिएसन नेपालले (हान) सुलभ ऋणको व्यवस्था तथा आवश्यक सहयोग सहजीकरणका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण नेपालका सबैजसो व्यवसायमा प्रभाव परेको छ । त्यसमा होटल व्यवसाय समेत प्रभावित हुन पुगेको छ । देशभर १२ सय भन्दा बढि होटलहरु रहेको र सवा खर्ब भन्दा बढि लगानी रहेको छ ।
सबै होटलहरु चैत्र ९ गतेदेखि नै बन्द अवस्थामा रहेका छन् । एशोसिएसनले राहत उपलब्ध गराउने व्यवसायीको सूचीमा होटल व्यवसायीलाई समेत राख्न अनुरोध गरेको छ । साथै सुलभ ऋणको व्यवस्थाका लागि समेत एशोसिएसनले माग गरेको छ ।
यस्तै एक महिनाभन्दा बढि समयसम्म कुनै व्यवसाय सञ्चालन हुन नसकेकाले घरभाडा छुटको लागि आवहान गर्न अनुरोध गरिएको छ ।
सरकारले भाडा नलिन भन्दै आए पनि उपत्यकामा रहेका घरधनीहरुले भाडा लिइरहेको पाइएको छ । यसले व्यवसायीका साथै श्रमीकहरुमा समेत ठूलो प्रभाव परेको एशोसिएसनले जनाएको छ ।
कुनै व्यवसाय स्फूर्त सञ्चालन हुन नसकिरहेको बेला र रोजगार गर्दै बसेकाहरुले समेत तलब पाउने नपाउने टुंगो नलाग्दा घरभाडा छुटको व्यवस्था गर्न एशोसिएसनले माग गरेको हो ।
एशोसिएसनले बाहाल छुटसँगै कर छुटका लागि समेत माग गरेको छ ।