उपभोक्ता ठग्ने नियत नरहेको भाटभटेनीकोे स्पष्टोक्ति

काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपभोक्ता ठग्ने आफ्नो नियत नरहेको स्पष्टोक्ति दिएको छ । महँगोमा सामान बेचेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख जरिवाना गरेपछि प्राविधिक रुपमा गल्ती भएपनि उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नरहेको स्पष्ट पारेको हो ।

 

भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्राविधिक र कानूनी रुपमा यो गल्ती नै हो भन्ने हामी स्वीकार गर्दछौं । तर यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको प्रस्ट पार्न चाहन्छौं ।’

 

विनाशकारी भूकम्प र नाकाबन्दीको अप्ठेरो अवस्थामा पनि आपूर्तिकर्तासँग मोलमोलाइ गर्नुका साथै कम्पनीलाई हुने नाफा कटौती गरेर पनि उपभोक्तालाई साबिकको मूल्यमा सामान उपलब्ध गराएको भन्दै आज पनि हरेक आउटलेटमार्फत विक्री हुने वस्तुहरु अधिकतम खुद्रा विक्री मूल्यभन्दा कम मूल्यमै पाइने भाटभटेनीले दाबी गरेको छ ।

 

साथै भाटभटेनीले उपभोक्तालाई आफ्ना हरेक स्टोरहरुबाट विक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी समेतदिने जनाएको छ । डेढ लाखभन्दा बढी वस्तु बेच्दै आएको भाटभटेनीले मानवीय त्रुटीले एउटा वस्तुको मूल्य बढी पर्न गएकोमा त्यसलाइ अन्यथा नठान्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

 

वाणिज्य विभागले सोमबार भाटभटेनीको टंगाल शाखाबाट २५० ग्रामको लाखमरीको ५०० ग्रामकै मूल्य लिएको भन्दै ३ लाख जरिवाना गरेको थियोे । मानवीय गल्तिका कारण २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन पुगेको भाटभटेनीले जनाएको छ ।

किसानले बजार मूल्यभन्दा ४५० सस्तोमा रासायनिक मल पाउने Read Previous

किसानले बजार मूल्यभन्दा ४५० सस्तोमा रासायनिक मल पाउने

निम्बसले वीरगञ्जमा विस्तार गर्‍यो अनलाइन सपिङ Read Next

निम्बसले वीरगञ्जमा विस्तार गर्‍यो अनलाइन सपिङ