ऋणीलाई राहत, ब्याजमा २ प्रतिशत छुट पाउने

काठमाडौं । केन्द्रीय बैंकले कोरोनाबाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो ।

 

बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज २ प्रतिशतले कम गरी आव २०७६÷०७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्नुपर्नेछ ।

 

तर खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्याँस उत्पादन तथा विक्री वितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ ।

 

यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक/त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्ता किस्ताको हकमा कुनै पनि थप शुल्क तथा हर्जना लिन नपाइने निर्देशनमा उल्लेख छ ।

 

यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपूँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने बैंकले जनाएको छ ।

वैशाख २५ पछि बजार खोल्ने पक्षमा नेप्से, ब्रोकर एशोसिएशनले माग्यो छुट Read Previous

वैशाख २५ पछि बजार खोल्ने पक्षमा नेप्से, ब्रोकर एशोसिएशनले माग्यो छुट

उपत्यका आसपासका यी ठाउँमा नयाँ शहर निर्माण गरिने, आगामी वर्ष बजेट तर्जुमा Read Next

उपत्यका आसपासका यी ठाउँमा नयाँ शहर निर्माण गरिने, आगामी वर्ष बजेट तर्जुमा