वैशाख २५ पछि बजार खोल्ने पक्षमा नेप्से, ब्रोकर एशोसिएशनले माग्यो छुट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि सेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिँदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए ।

 

नेपालको सन्दर्भमा सेयर बजार सञ्चालनका लागि बिजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए ।

 

नेप्सेको अनलाइन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरूनै यसप्रति आकर्षित नभएकोमा दुःख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाइनमार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।

 

सेयर बजार बन्द हुदाँ सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन् : अध्यक्ष रानाभाट

 

बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । उनले बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले समस्या हुने बताए ।

 

वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिर्दै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए । हाललाई लगानीकर्ताहरूको खाता नवीकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौं ।

 

लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउने तर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।

 

अनलाइन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिसकेका छौं : बोर्डका अध्यक्ष ढुङ्गाना

 

नेपालमा लागू गरिएको अनलाइन कारोबार प्रणाली पूर्ण भनाइ हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् ।

 

उनले लकडाउन खुलेको दुईदेखि तीन महिनाभित्र पूर्ण स्वचालित अनलाइन कारोबार लागू गरिने प्रतिवद्धता व्यक्त गरे । यसका लागि नेप्से र बोर्ड नै लागिपरेको उनले बताए ।

 

सरकाले लागू गरेको लकडाउनका विच बजार खोल्ने वातावरण मिलाउन हामी बजार सम्बद्ध निकायहरूमा चार सय भन्दा बढी व्यक्ति उपस्थित हुनुुपर्ने र यसले लकडाउनको प्रभावकारितालाई असर गर्ने हँुदा बजार खोल्न नसकिएको उनले प्रष्ट पारे ।

 

तर, वैशाख २५ पछि लकडाउन जारी भई खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार गर्ने पक्षमा छौं । यसका लागि कुन मोडालिटिमा कारोबार सुचारु गर्ने हो भन्ने विषयमा तयारी अवस्थामा रहन नेप्सेलाई निर्देशन समेत दिएको उनले बताएका छन् ।

 

४५ दिन बजार बन्द हुदाँ लगानीकर्तामा नकारात्मक सन्देश जान्छ : लगानीकर्ता पौडेल

 

कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने तर्क नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताएका छन् । उनले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउन सुझाव दिएका हुन ।

 

वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको सेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे ।

 

धितोपत्र बजारमा गैरआवासिय नेपालीहरूको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाइ छ । अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरूमध्य पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।

 

पूँजीबजारलाई प्राथमिकतामा राख्नुपर्छ : सेयर विज्ञ डा.भट्ट

 

नेपालको पूँजीबजारले कर्पोरेट सेक्टरका कम्पनीहरूलाई पूँजी दिन्छ भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर्क सेयर विज्ञ डा. गोपाल भट्टले राखेका छन् । उनले सेयर बजार देशको आवश्यकता हो भने आवश्यक योजना सहित खोल्नुपर्नेमा जोड दिएका छन् ।

 

देशको विकास गर्छु समृद्धिमा लैजान्छु भन्नेले बजार लामो समय सम्म बन्द हुदाँ समेत व्यवस्था गर्नु उचित नभएको उनको भनाइ छ । अन्तराष्ट्रिय मुलुकमा लकडाउन जारी रहदा समेत बजार खुला रहेको अवस्थामा नेपालमा लामो समय बन्द हुनुको कारण यस क्षेत्रलाई सरकारले व्यवास्था गरेको आरोप सेयर भट्टले लगाएका छन् ।

 

हरेक संकटबाट सिक्दै जानुपर्ने भन्दै उनले अन्तराष्ट्रिय स्तरमा सुचारु भएको सेयर कारोबारको मोडालिटि हेरेर नेपालमा पनि बजार सुचारु गराउनुपर्ने सुझाव दिएका छन् ।

बिदामा नेपाल आएका कामदार कोरिया जान पाउने, टिकटको १ लाख १३ हजार तिर्नुपर्ने Read Previous

बिदामा नेपाल आएका कामदार कोरिया जान पाउने, टिकटको १ लाख १३ हजार तिर्नुपर्ने

ऋणीलाई राहत, ब्याजमा २ प्रतिशत छुट पाउने Read Next

ऋणीलाई राहत, ब्याजमा २ प्रतिशत छुट पाउने