बुद्ध एयरले बनायो हवाई सुरक्षा निर्देशिका, जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने

काठमाडौं । वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोनाबाट हवाई सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

 

बुद्धले आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि सुरक्षा निर्देशिका बनाएको हो । उक्त सुरक्षा निर्देशिका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ ।

 

खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको हो । हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य सङ्गठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वासप्रस्वाससम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने जनाएको छ । त्यसका लागि आफ्ना काउन्टरमा विशेष व्यवस्था मिलाइनेछ ।

 

कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ । एक वा दुईजना एयर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो । उडानका क्रममा उपयोग हुने र्याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन । विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

 

यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ । बुद्ध एयरका कार्यालय र सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयभित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन । कर्मचारीले खाजा सकभर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ ।

 

मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराइनेछ । कर्मचारीलाई भीडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायत क्षेत्रमा जान रोक लगाइएको कम्पनीले बताएको छ ।

प्राइम लाइफका सबै कर्मचारीको प्रतिव्यक्ति १ लाखको कोरोना बीमा Read Previous

प्राइम लाइफका सबै कर्मचारीको प्रतिव्यक्ति १ लाखको कोरोना बीमा

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने Read Next

सनराइज बैंकमा घरबाटै निक्षेप खाता खोल्न सकिने