थपियो सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय

काठमाडौं । सरकारले ठूलै तामझाम सहित ल्याएको सामाजिक सुरक्षा कोषमा सूचिकरण हुने कम्पनीको संख्या कम भएपनि समय थप गरिएको छ । यही साउन १ देखि सबै कम्पनीलाई अनिवार्य रुपमा सूचिकरण हुन भनिएको थियो ।

 

तर सरकारले भनेजस्तो कम्पनीहरु नआएपछि सामाजिक सुरक्षा कोषले साउन १ गते सार्वजनिक सूचना प्रकाशित गर्दै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचिकृत हुने समय असोज मसान्तसम्म थपेको हो ।

 

गत मंसिर ११ गते घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा असार मसान्तसम्ममा ३८ सय कम्पनी दर्ता भएका छन् । त्यसमा करिव २० हजार श्रमिक सूचिकृत भएको कोषले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागि हुनेको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । त्यसमा रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ ।

 

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने कार्य्विधिमा उल्लेख छ । उक्त योजनाअनुसार कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

 

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको विल बमोजिमको खर्च प्राप्त गर्नेछन् ।

 

यस्तै विभिन्न सुविधा सहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष बनाएको छ । यस्तो व्यवस्था संसारका विभिन्न मुलुकहरुमा समेत रहेको छ ।

 

यो पनि पढ्नुस्ः लक्षित वर्गमा पुग्न नसकेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम

सबैको लघुवित्तको आइपीओ आवेदन खुल्ला Read Previous

सबैको लघुवित्तको आइपीओ आवेदन खुल्ला

निजी क्षेत्रले बढाए पनि टेलिकमले इन्टरनेटको महशुल नबढाउने Read Next

निजी क्षेत्रले बढाए पनि टेलिकमले इन्टरनेटको महशुल नबढाउने