काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन खुलेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ३० लाख रुपैयाँ बराबराको ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
निष्कासित आइपीओमध्ये ८ हजार २५० कित्ता (०.५ प्रतिशत) कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकीरहेको ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम २ हजार कित्ता (२ लाख रुपैयाँ) सम्मको लागि आवेदन दिन सक्नेछन् । यस आइपीओ साउन ५ गते सम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा साउन ३० गते सम्म आवेदन दिन पाइनेछ ।
कहाँबाट दिने आवेदन ?
लघुवित्तको आईपीओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । यस आइपीओको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म २ करोड ८२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ४ करोड ७२ लाख ८२ हजार र आव २०७७।७८ मा ५ करोड ४२ लाख १० हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान रहेको छ ।