काठमाडाैं । बजेटमा व्यवस्था भए अनुसार आजबाट सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) घट्ने भएको छ । सरकारले गत आर्थिक वर्षमा लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरेको थियो ।
यस वर्षको बजेट मार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले लाभकर २.५ प्रतिशत घटाएर ५ प्रतिशत नै कायम गरेका छन् । बुधबारदेखि नयाँ लाभकर लागु हुँदैछ । लाभकर घटेपछि लगानीकर्ताले सेयर बेच्दा बुझाउनु पर्ने कर दायित्व कम हुने भएको हाे ।
त्यसैगरी, सेयर कारोबारमा भारित औसत लागत (वेटेज एभरेज) विधिबाट पुँजीगत लाभकर गणना गर्ने व्यवस्था पनि बुधबारदेखि नै कार्यान्वयनमा आएको छ । सीडीएस एन्ड क्लियरिङ हालसले साउन १ गतेबाट वेटेज एभरेजको आधारमा पुँजीगत लाभकर गणना विधि लागू गरेको हो ।
वेटेज एभरेजका आधारमा लाभकर गणना गर्ने व्यवस्था आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ को दफा (५९क) को संशोधन मार्फत उपदफा (२) को खण्ड २(क) मा व्यवस्था गरिएको छ । उक्त व्यवस्था बमोजिम लाभ गणना गर्दा जुन निकायको हित हुने हो, त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औषत लागतको आधारमा गणना गर्नु पर्ने सिडिएससीले जनाएको छ ।
वेटेज एभरेज विधिमा प्रत्येक व्यक्तिगत लगानीकर्ताको परेको लागतका आधारमा हिसाब निकालिनेछ । यस आधारमा घाटा भए कर तिर्नुपर्दैन । औसत लागत मूल्यभन्दा बढी भाउमा बिक्री गरेमात्र कर तिर्नुपर्ने हुन्छ ।