व्यवसायमा आउन सक्ने परिवर्तन र व्यवसायीको भविष्य : उद्यमी अञ्जन श्रेष्ठको विचार
चाणक्य पोष्ट
प्रकाशित : 12:46 pm, सोमबार, वैशाख १५, २०७७

एउटा निकै गम्भीर र चर्चित भनाई छ,‘असाध्यै राम्रो समय वा असाध्यै नराम्रो समय असाध्यै लामो समयसम्म टिक्दैन ।’

 

अहिले हामी असाध्यै नराम्रो समयबाट गुज्रिरहेका छौं । तर, पक्का के हो भने यो अब असाध्यै लामो समयसम्म चाँही जाँदैन । यो नै सत्य हो ।

 

तर, यो नराम्रो समयबाट हामी गुज्रिसकेपछि पनि यसको दीर्घकालीन प्रभाव भने हामीले भोग्नु पर्ने नै छ । त्यसैले यो नराम्रो समय ढिलो चाँडो अन्त्य हुने नै छ भन्ने विश्वासका साथ आगामी दिनहरुको आर्थिक क्षेत्र सम्बन्धित केही चर्चा गरेको छु ।

 

अर्थतन्त्रहरु जसरी भाइरसको आक्रमण पश्चात् एकाएक ठप्प भए, अब त्यसैगरी भाइरसको अन्त्यपछि झट्टै सुचारु हुँदैनन् । अर्थतन्त्रमा धेरै संरचनागत परिर्वतन भइसकेका हुनेछन् । व्यवसायहरु उठ्नै नसक्ने अवस्थामा पुगिसेका पनि हुनेछन् ।

 

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले शुरु गरेको लकडाउनको कारण अहिले हाम्रो अर्थतन्त्रको सबै क्षेत्र ठप्प छन् । हाम्रो मात्र नभएर हामीसँग सम्बन्ध भएका विश्वका अन्य अर्थतन्त्रहरु पनि ठप्प नै छन् ।

 

अर्थतन्त्रहरु जसरी भाइरसको आक्रमण पश्चात् एकाएक ठप्प भए, अब त्यसैगरी भाइरसको अन्त्यपछि झट्टै सुचारु हुँदैनन् । अर्थतन्त्रमा धेरै संरचनागत परिर्वतन भइसकेका हुनेछन् । व्यवसायहरु उठ्नै नसक्ने अवस्थामा पुगिसेका पनि हुनेछन् । कतिपय व्यवसायहरुले आफ्नो सान्दर्भिकता गुमाइसेको हुनेछन् भने कतिपय अपरिहार्य भइसकेका हुनेछन् ।

 

त्यसैले अब अर्थतन्त्रलाई कसरी बदलिएको अवस्थामा प्रभावकारी ढंगले खोल्दै लैजाने भन्नेमा गम्भीर रुपमा राष्ट्रव्यापी बहसको खाँचो भइसकेको छ ।

 

उद्योगहरुलाई कसरी सुचारु गर्ने ?

 

हाल म उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापतिको भूमिका निर्वाह गरिरहेको छु । यो भूमिकामा रहेको हुनाले अहिले म देशका विभिन्न क्षेत्रका उद्योगहरुको अवस्थाका बारेमा जानकारी लिइरहेको छु ।

 

अहिले नेपालका केही सिमित अत्यावश्यक उद्योगहरु बाहेक सबै ठप्प छन् । अब समस्या के छ भने जसरी यी उद्योगहरु एकाएक बन्द भए त्यसैगरी एकाएक खुल्ने अवस्थामा भने छैनन् । देशभरका उद्योगीहरुको साझा मत यही हो । सबैभन्दा ठूलो समस्या भनेको नगद पवाह र पूँजीको हो । उनीहरु अतिरित्त पूँजी बिना उद्योग सुचारु गर्न सक्ने अवस्थामा छैनन् । उनीहरुले उद्योग सुचारु गर्नका लागि सरकारले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको माध्यमबाट पूँजीगत र वित्तीय सहयोगको अपेक्षा गरेका छन् ।

 

सबैलाई सोलोडोलो एकै खाले नीति ल्याएर हुँदैन । फेरि सबै खाले उद्योगलाई या लकडाउनले उस्तै वा उही सघनताको प्रभाव परेको पनि होइन । अनी अबको नयाँ परिस्थितिमा केही उद्योगहरु असान्दर्भिक पो भइसक्ने हुन् कि ? यसमा अध्ययन हुनुपर्छ ।

 

सरकारसँग पनि स्रोत सिमित नै छ, असिमित छैन । त्यसैले मेरो विचारमा यसमा सरकारले गम्भीर अध्ययन गर्नुपर्छ । हामीलाई अहिले कस्ता उद्योगको सबैभन्दा बढी खाँचो छ, कस्ता उद्योगहरुमा हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढी छ, कस्ता उद्योगको प्रर्बद्धन गर्दा निर्यात बढाउन सकिन्छ, वा कम्तीमा उल्लेख्य मात्रामा आयात घटाउन सकिन्छ त्यस्ता उद्योगहरुलाई सुचारु गर्न र थप उचाइमा पुर्याउन सरकारले विभिन्न किसिमका पुनःसंचालनको प्याकेज ल्याउनु पर्छ ।

 

सबैलाई सोलोडोलो एकै खाले नीति ल्याएर हुँदैन । फेरि सबै खाले उद्योगलाई यो लकडाउनले उस्तै वा उही सघनताको प्रभाव परेको पनि होइन । अनी अबको नयाँ परिस्थितिमा केही उद्योगहरु असान्दर्भिक पो भइसक्ने हुन् कि ? यसमा अध्ययन हुनुपर्छ । सबै सरोकारवालाहरु सम्मिलित अध्ययन कमिटीहरु गठन गर्यो भने सजिलो हुन्छ होला जस्तो लाग्छ । सरकारले सबै सरोकारवालाहरुको सल्लाह लिनुपर्छ यो विषयमा भन्ने लाग्छ ।

 

अबको लगानीको वातावरण

 

कोरोना भाइरसको महामारी पश्चात नेपालको लगानीको वातावरणमा केही आधारभुत परिर्वतन हुन्छ जस्तो मलाई लाग्छ । केही ठूला लगानीहरु नयाँ क्षेत्रतर्फ आकर्षित हुन सक्छन् । अहिलेसम्म ठूला घरानाका लगानीहरु बैंक तथा वित्तीय संस्था, व्यापारका केही क्षेत्रहरु, सिमेन्ट र स्टिल उत्पादन जस्ता क्षेत्रमा रहँदै आएका छन् ।

 

आइटीको क्षेत्र साना तथा मझौला लगानीकर्ताहरुले धानीरहेको अवस्था हो । तर, अहिले लकडाउनको अवस्थाले नेपालको डिजिटल र आइटीको क्षेत्रमा केही सकारात्मक प्रभाव पारेको छ जस्तो लाग्छ । यस्ता क्षेत्रहरु केही अगाडि आएका छन् । डिजिटल पमेन्ट गेटवे, इ–कर्मश जस्ता व्यवसायहरुले आफ्नो सान्दर्भिकता पुष्टि गरेका छन्, प्रयोगकर्ताहरु बढाएका छन् । सायद अब केही ठूला लगानीकर्ताहरु यो क्षेत्रमा आकर्षित होलान् ।

 

हाम्रो छिमेकी भारतमा यो क्षेत्रले ठूला लगानीकर्ताहरु आकर्षित गरिसकेको अवस्था हो । टाटा कन्सल्टेन्सी, इन्फोसिस् जस्ता कम्पनीहरु भारतकै ठूला कम्पनीहरुका रुपमा स्थापित भइसकेका छन् । रिलायन्स जस्तो कम्पनीले पनि इ-कर्मश व्यवसाय शुरु गरिसकेको छ । फेसबुक जस्तो कम्पनीसँग पनि हालै सम्झौता भइसकेको छ ।

 

यसको अर्थ के हो भने आइटी र डिजिटल व्यवसायको अन्य क्षेत्रहरुले नेपालमा पनि ठूला लगानीकर्ताहरु आकर्षित गर्ने अवस्थालाई यो महामारीले अलि तीव्र बनाइदिए झैं लाग्छ मलाई ।

 

साना व्यवसायीहरु धेरै खतरामा छन् अहिले । उनीहरु यो महामारी पछि फेरी पनि नयाँ उद्यमी बनेर शुरु गर्नु पर्ने अवस्था आउने देखिन थालेको छ । कतिपय अवस्थामा लामो समय बन्द भएको व्यवसाय सुचारु गर्नुभन्दा सधैंका लागि बन्दै गर्नु सहज हुन आउँछ ।

 

कृषि र जडीबुटीको क्षेत्रमा पनि ठूला लगानीकर्ताहरु आकर्षित हुने अवस्था देखिन थालेको छ । धेरै नेपालीहरु अब विदेशबाट फर्किने संभावना छ । युवा जनशक्तिको उपलब्धता र महामारीको समयमा कृषि क्षेत्रको अपरिहार्यता पुष्टि भएको यो समयमा यो क्षेत्रमा पनि राम्रो लगानीहरु आउन सक्छन् । यसको लागि चाहिँ सरकारले पनि केही नीतिगत कदमहरु चाल्नु पर्ने हुनसक्छ, लगानी आकर्षित गर्नका लागि । कृषि र जडिबुटी धेरै नाफामूलक व्यवसाय नभएका कारण यसमा सरकारको विशेष सहयोग चाहिन्छ ।

 

महामारीले आर्थिक क्षेत्रमा ल्याउन सक्ने केही संरचनागत परिर्वतन

 

यो महामारीले आर्थिक क्षेत्रमा केही आधारभूत संरचनामा पनि परिर्वतन ल्याउन सक्छ । साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा त उथलपुथल नै ल्याउन सक्छ ।

 

यस्ता महामारी पछि मानिसहरुको आनीबानी र व्यवहार स्थायी रुपमै परिर्वतन हुने हुँदा कतिपय व्यवसायहरु अब कहिल्यै नखुल्ने गरी बन्द हुन सक्छन् भनेर बिजनेश रिकभर सम्बन्धी जानकारहरुले बताउन थालेका छन् ।

 

साना व्यवसायीहरु धेरै खतरामा छन् अहिले । उनीहरु यो महामारी पछि फेरी पनि नयाँ उद्यमी बनेर शुरु गर्नु पर्ने अवस्था आउने देखिन थालेको छ । कतिपय अवस्थामा लामो समय बन्द भएको व्यवसाय सुचारु गर्नुभन्दा सधैंका लागि बन्दै गर्नु सहज हुन आउँछ ।

 

अर्थतन्त्र खुलेपछि धेरै ठाउँमा पहिले जस्तो हुने छैनन् । हाम्रा धेरै बानीहरु परिर्वतन भइसकेका छन् । अनी हाम्रो खल्तीको आयतनमा पनि केही परिर्वतन आउनसक्छ ।

 

ठूला र नियमन गरिएका व्यवसायहरुको पुर्नउत्थान हुने योजनाहरु होलान्, जोखिम न्यूनीकरणको प्रष्ट योजनाहरु पनि हुन्छन् । साना व्यवसायहरुको त्यस्तो योजना हुँदैन ।

 

ठूला उद्योगहरुको पनि मूल्य श्रृंखला वा आपूर्ति श्रृंखलामा परिवर्तनहरु आउन सक्छन् । डिजिटल प्लेटर्फमहरु बनाएर उद्योगहरु आफ्ना उत्पादनहरु आफैं बेच्न अग्रसर हुन पनि सक्छन् । निम्बसलगायत केही उद्योगहरुले यसको शुरुवात गरिसकेका पनि छन् । भौतिक वितरण प्रणालीको ठाउँमा डिजिटल वितरण प्रणालीले विस्तारै लिँदै जान पनि सक्छ ।

 

यसरी नै अघि बढे कृषि व्यवसायको त संरचनामा हलचल नै आउन सक्छ । अहिलेको महामारीको समयमा डिजिटल प्लेटर्फम भएका कतिपय डेलिभरी च्यालन भएका कम्पनीहरुले सीधै किसानबाट ल्याएर घरघरमा कृषि उत्पादनहरु पुर्याउन थालेका छन् ।

 

यो निरन्तर चलेमा कृषि क्षेत्रमा विद्यमान विचौलियाहरुको जब्बर संरचना सधैंका लागि सकिन पनि सक्छ । कहिलेकहीँ ठुल्ठूला राजनीतिक वा सामाजिक क्रान्तिहरुले भत्काउन नसकेका संरचनाहरु साधारण झैं लाग्ने प्रविधिको विकासले भत्काइदिन सक्छन् ।

 

अन्तमा, माथि उल्लेख गरे झैं यो असाध्यै खराब समय अब धेरै लामो समय नजाला । तर, यसले नेपालको उद्योगको क्षेत्रमा, लगानीको वातावरणको सन्दर्भमा र नेपाली अर्थतन्त्रको आधारभूत संरचनामा दीर्घकालीन प्रभाव छाडेर जान सक्ने अवस्था देखिन थालेको छ । यस्ता परिर्वतनहरुलाई आफू अनुकूल कसरी बनाउने भन्ने चाहिँ सबै सरोकारवालाहरुको साझा सरोकारको विषय हो ।