काठमाडौं । लकडाउन यता तरकारीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेपनि फलफूलको मूल्य भने आकाशिएको छ । पछिल्लो समय बजारमा फलफूलको मूल्य प्रतिकिलोमै ८० रुपैयाँदेखि ३५० रुपैयाँसम्म बढेको छ ।
लकडाउन अघि खुद्रा बजारमा ९० देखि १ सय रुपैयाँ दर्जन विक्री हुँदै आएको केराको मूल्य बिहीबार १४० रुपैयाँ दर्जन पुगेको छ । कालिमाटी फलफूल बजारमा केराको थोक मूल्य ९० रुपैयाँ देखि १ सय रुपैयाँ छ ।
यस्तै स्याउको मूल्य ३ सय ५० रुपैयाँ केजीबाट बढेर ४ सय ५० देखि ५ सय रुपैयाँसम्ममा विक्री भइरहेको पाइएको छ । यस्तै कालिमाटी बजारमा स्याउ पाउनै छाडिसकेको कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।
यस्तै सुन्तलाको मूल्य १ सय रुपैयाँबाट २५० रुपैयाँसम्ममा पुगेको छ । अनार १५० रुपैयाँ प्रतिकेजीबाट बढेर ४५० रुपैयाँको हाराहारीमा पुगेको पाइएको छ । पछिल्लो समय अनारमा सबैभन्दा बढी मूल्य बढेको हो । खरबुजा४५ रुपैयाँ प्रतिकेजीबाट ६० रुपैयाँ प्रतिकेजी पुगेको छ । यस्तै बजारमा अन्य फलफूलको मूल्य पनि ह्वात्तै बढेको छ ।
पछिल्लो सातादेखि भारतबाट फलफूल आयात हुन छाडेपछि बजारमा यसको भाउ आकाशिएको व्यापारीहरु बताउँछन् । यसअघि लकडाउनको अवधिमा पनि भारतबाट फलफूल आयाता भइरहेको भएपनि गत सातादेखि अत्यन्त कम मात्रमा फलफूल आयात भएको छ । यस्तै नेपाली बजारमा रहेको स्टक पनि सकिँदै गएकाले फलफूलको भाउ बढेको व्यापारीको भनाइ छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ११ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । गत आर्थिक वर्षको सोही वर्षमा १० अर्ब ७७ करोड ९८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो ।
चालू आर्थिक वर्षमा ३ अर्ब ९५ करोड ३१ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । केरा १ अर्ब ९० करोड ५५ लाख रुपैयाँ बारबरको आयात भएको तथ्यांकले देखाएको छ । चालू आवमा १ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको पाइएको छ ।
गत आर्थिक वर्षमा कुल १४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले फलफूलमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने गरे पनि आयत भने कम गर्न सकिएको छैन । नेपालमा वार्षिक अर्बौंका दरले फलफूल आयात बढ्दो क्रममा रहेको छ ।
हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ दगातका जिल्लामा स्याउँ खेती भइरहेको छ । नेपालमा स्याउँ उत्पादन हुने गरेपनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै पनि स्याउमा आत्मनिर्भर हुन सकेको छैन ।