काठमाडौं । सरकारले गहुँको सर्मथन मूल्य प्रति क्वीन्टल ३ हजार १५ रुपैयाँ तोक्ने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त मूल्य तोक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र लागू हुनेछ । हालसम्म प्रस्ताव स्वीकृत भइनसकेको कृषि मन्त्रालयका प्रवक्ता हरी केसीले बताए ।
देशभरका किसानले गहुँ भित्र्याउन थालेका छन् । मन्त्रालयले गहुँ किनबेच सुरु हुन अगावै मूल्य तोक्ने तयारी गरिरहेको छ ।
गत वर्ष देशभर २० लाख ४० हजार मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन केही बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।
देशको प्रमुख खाद्यन्न बाली मध्येको एक गहुँमा ५ वर्षभित्र आत्मनिर्भर हुनेगरी परियोजना बनाइएको थियो । सरकारले प्रधानमन्त्री आधुनिकीकरणलाई पुनःसंरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।