लकडाउन यता ७८ हजार मेट्रिकटन खाद्यान्न भित्रियो, वीरगञ्जमा रोकिए ३१५५ ट्रक

काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिकटन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिकटन खाद्यान्न आयात भएको हो ।

 

सो समयमा २४ हजार २१८ मेटन दलहन, ४० हजार ९९ मेटन तरकारी, दश हजार ८१८ मेटन फलफूल र दश हजार ९९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।

 

त्यस्तै ९७ करोड ६९ लाख ७६ हजार रूपैयाँ बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार रूपैयाँ बराबरको कच्चा पदार्थ आयात भएको छ ।

 

मन्त्रालयको तथ्यांकानुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।

 

सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ ।

 

फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ ।

 

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ ।

 

लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको तथा ६८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १५५ ट्रक रोकिएका छन् ।

 

भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको र हाल २३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको र १०१ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् ।

 

तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् ।

 

चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो ।

एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १०%नगद फिर्ता Read Previous

एनआइसी एशियाका ग्राहकलाई अनलाइनबाट सामान किन्दा १०%नगद फिर्ता

स्वास्थ्य सामग्री लिन सिंगापुर गयो श्री एयरलाइन्स, आजै फर्कने Read Next

स्वास्थ्य सामग्री लिन सिंगापुर गयो श्री एयरलाइन्स, आजै फर्कने