काठमाडौं । सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रकृया अगाडि बढाएको छ । यसका लागि सेनाले चीनसँग सम्झौता गरेको छ ।
सेनाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन९५ मास्क लगायत स्वास्थ्य सामग्री ल्याउनका लागि चीनसँग १ करोड ८४ लाख ४१ हजार ७०६ डलर (करिब २ अर्ब २४ करोड रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको हो ।
सेनाले जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो।सोही सम्झौता अनुरूप चीनबाट ३४२ टन स्वास्थ्य सामग्री ल्याइने सैनिक स्रोतले जनाकारी दिएको छ । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।
७ देखि १० दिनमा पहिलो चरणको सामग्री आइपुग्ने छ । चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।
ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।