काठमाडौं । नेपालमा एकैदिन थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
मंगलबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ जना र धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा कोरोना देखिएको हो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।
नेपालका लागि उदयपुर कोरोनाको इपिसेन्टर बनेको छ । कुल४० संक्रमितमध्ये उदयपुरमा मात्रै संक्रमितको संख्या २२ पुगेको छ । यसअघि उदयपुरकै त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म संक्रमित भएका ४० मध्ये ४ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।