काठमाडौं । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ को गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको थियो । ब्याजदर घटेसँगै नयाँ ऋण लिनेलाई भने केही सस्तो पर्ने भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार गत आवको तुलनामा चालू आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ ।
गत फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेका थिए ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् गत फागुन मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको छ ।
उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा गत फागुन मसान्तमा १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।यस्तै साधारण पुनरकर्जा १५ अर्ब ८३ करोड रुपैयाँ र निर्यात पुनरकर्जा १ अर्ब १ करोड रुपैयाँ उपयोग भएको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता गत फागुन मसान्तमा १ अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल १ हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।