काठमाडौं । देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये अब ७ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ को फागुन मसान्तसम्ममा ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।
राष्ट्र बैंकको अनुसार बागमती र सुदूरपश्चिम प्रदेका २/२ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् । बागमती प्रदेशमा जम्मा ११९ वटामध्ये ११७ र सुदूरपश्मिको ८८ मध्ये ८६ स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।

यस्तै, प्रदेशमा नं. १, गण्डकी र कर्णाली प्रदेशका १/१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश नं १ को १३७ वटा स्थानीय तहमध्ये १३६ वटामा, गण्डकी प्रदेशको ८५ वटामध्ये ८४ स्थानीय निकायमा र कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७८ मा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।
यता, प्रदेश नं. ५ र २ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा रहेका १०९ र प्रदेश २ का १३६ स्थानीय तहमै बैंकको शाखा पुगेका छन् ।