सरकारले रोक्न सकेन मूल्यवृद्धि, काठमाडौंमा सबैभन्दा उच्च

काठमाडौं । चालू आर्थिक वर्षको फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) सरकारको नियन्त्रण बाहिर गएको छ ।

 

सरकारले बजेट वक्तव्यमार्फत चालू आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको भए पनि फागुनमा सरकारले तोकेको सीमाभन्दा बाहिर गएको हो ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनमा उपभोक्ता मूल्यवृद्धिदर ६.७० प्रतिशत पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा २.५० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.२० प्रतिशत रहेको थियो।

 

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत छ ।

 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको केन्द्रीय बैंकले जनाएको छ ।

 

कहाँ कति मूल्यवृद्धि ?

 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मूल्यवृद्धि भएको छ भने सबै भन्दा कम हिमाली क्षेत्रमा छ । यस अविधमा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत मूल्यवृद्धि भएको छ ।

 

यस्तै तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मुद्रास्फीति छ । २०७५ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ४.६१ प्रतिशत, ३.६१ प्रतिशत, ४.६४ प्रतिशत र ५.४७ प्रतिशत मुद्रास्फीति थियो ।

 

भारतको तुलनामा नेपालमा मूल्यवृद्धि बढी छ । समीक्षा महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत रहेकामा भारतमा यस्तो (मार्च महिनाको) मुद्रास्फीति ५.९१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.२० प्रतिशत र २.८६ प्रतिशत रहेको थियो ।

 

२०७६ फागुनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.५७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।

 

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ५.८१ प्रतिशत, ७.७० प्रतिशत र २.७७ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.८१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

अब ७ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति Read Previous

अब ७ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी, कुन प्रदेशमा कति

भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु Read Next

भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु