काठमाडौं । नेपालमा पनि कोरोना भाइसर (कोभिड १९) बीमालेख विक्री सुरु भएको छ । बीमा समितिको निर्देशन अनुसार आइतबार एक कार्यक्रम आयोजना गरी निर्जीवन बीमा कम्पनीहरुले आइतबारदेखि बीमालेख विक्री सुरु गरेका हुन् ।
समितले गत बिहीबार एक सर्कुलर जारी गर्दे कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए ।
बीमा समितिको निर्देशन अनुसार सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको हुने गरी व्यवस्था गरेको छ ।
समितिले १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख जारी गरेको छ। जस अनुसार १ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ ।
यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क कायम गरिएको छ।
बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।
कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने बीमा समितिले जनाएको छ ।
अनलाइन आबेदन मार्फत बीमालेख जारी गर्न सकिने गरि व्यवस्था गरिएको छ । साथै जुनसुकै निर्जीवन बीमा कम्पनीको नजिकको शाखा कार्यालय, बजार विभागका कर्मचारी बीमा अभिकर्ता वा प्रधान कार्यलयमा सोझै सम्पर्क गरी बीमालेख खरिद गर्न सकिने व्यवस्था गरेको छ ।