काठमाडौं । चीनले आफूसँग सीमाना जोडिएका नेपालका १४ हिमाली जिल्लालाई प्रदान गर्ने भनिएको सहयोग चालू आर्थिक वर्षका लागि रोकेको छ ।
नेपालका १४ जिल्लाका स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक/एक एस्काभेटर प्रदान गर्ने सहमति थियो।
कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष एस्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले २०७७ वैशाख ३ गते परराष्ट्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र पठाउँदै यस विषयमा जानकारी गराएको छ।
चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ, संखुवासभाको सभापोखरी, दोलखाको बिगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाइकुण्ड,धादिङको रुविभ्यालीलाई एस्काभेटर सहयोग दिने घोषणा गरेको थियो ।
त्यस्तै गोरखाको चुमनव्री, मनाङको नार्पाभूमि, मुस्ताङको लोमन्थाङ, बझाङको तालकोट, डोल्पाको से फोक्सुण्डो, मुगुको मुगुम कार्मारोङ, हुम्लो नाम्खा, दार्चुलाको मार्मा गाउँपालिकालाई एकरएक वटाका दरले एस्काभेटर सहयोग घोषणा गरेको थियो ।