सीमामा अलपत्र नेपाली आफ्नै देश प्रवेश गर्न १६ सय तिर्न बाध्य

बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो ।

 

लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन्, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा १ हजार रुपैयाँ भारु (नेपाली १ हजार ६००) तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत १ हजार रुपैयाँ भारु लिएको हो ।

 

‘ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई÷तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,’ लालबहादुर नेगीले भने, ‘किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं । हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं ।’

 

‘हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्,’ उनले भने, ‘२० वर्ष बढी भयो, भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।’

 

‘अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा र तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ,’ उनले भने, ‘आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।’

 

रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु परेको उनको भनाइ छ । ‘पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो,’ उनले भने, ‘हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौं । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौं । सबैभन्दा जेठो छोरा (दिपेन्द्र)लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमति जानकी नेगी र ७ छोराछोरी छन् ।’

 

गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उनका छोरा दिपेन्द्रले बताए । म पनि जहिल्यै बुबासँगै काम गर्छु । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उनको भनाइ छ । उनले भने, ‘आफूले आर्थिक अभावका कारण पढ्न पाएनौं, भाइबहिनीलाई पढाउन भारतमा मजदुरी गर्दैछौं ।’ भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म यालादारी दिने गरेका छन् ।

 

नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपरेको बताए। सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उनले बताए । काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भने । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं । मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उनको भनाइ छ ।

 

आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । ‘हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,’ कार्कीले भने, ‘गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ ।’

 

उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् । नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । रासस

भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने Read Previous

भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने

अलपत्र पैदल यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश Read Next

अलपत्र पैदल यात्रुलाई तत्काल गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश