हालको भारतीय संस्थापन विरुद्धको संभवत सबैभन्दा प्रखर योद्धा एवं शब्द शिल्पी अरुन्धती रोयले केही साता अघि ‘द फाइनान्सियल टाइम्स’मा सदा झैं एक बेजोड लेख लेखिन् ।
उनी लेख्छिन्,‘……यत्तिकै सामान्य अवस्थामा फर्किनु भन्दा खराब केही हुने छैन । इतिहासमा महाव्याधिहरूले आफ्नो विगतलाई भत्काएर नयाँ भविष्यको कल्पना गर्न बाध्य तुल्याएका छन् । यो संकट पनि तिनीहरूभन्दा पृथक छैन । यो अहिलेको विश्व र नयाँ विश्वबीचको महाद्वार हो । हाम्रा पूर्वाग्रह र घृणा, लालच, हाम्रा डेटा ब्यांक र मृत विचार, सुख्खा खोला र प्रदूषित आकाशको लास बोकेर यो महाद्वारबाट घस्रिने अथवा थोरै सामान बोकेर नयाँ भविष्यको कल्पना गर्दै खुला भएर हिँड्ने र यो संकटसँग जुध्ने, हामी आफैंले रोज्न सक्छौ ।’
नेपालको अर्थतन्त्रको सन्दर्भमा पनि उनको यो विचार धेरै हदसम्म लागू हुन्छ । नेपाली अर्थतन्त्र पनि अहिले यो महाब्याधिको कारणले पुरानो अर्थतन्त्र र नयाँ अर्थतन्त्र बीचको महाद्धारमा आएर उभिएको छ ।
कोरोना भाइरसको यो महामारीका कारण अहिले हाम्रो अर्थतन्त्रका सारा पार्टपुर्जाहरु बन्द भएका छन् । यस्तो बन्दी सामान्य अवस्थामा सायदै हुन्थ्यो । तर, यसरी मेशिनका पुर्जाहरु बन्द हुँदाको फाइदा के हुन्छ भने यसका सम्पूर्ण पुर्जाहरुमा आरामले घोत्लिएर हेर्न पाइन्छ ।
आफू केही उत्पादन र निर्यात नगर्ने, आफ्ना युवा जनशक्तिलाई विदेशका हड्डी पगाल्नका लागि पठाउने, उनीहरुले पठाएको रेमिट्यान्सको पैसाले आयात गरेर आफ्नो जिविका चलाउने र त्यही आयात गर्दा उठेको राजश्वले सरकारले चालू खर्च धान्ने, अनी पुँजीगत खर्चको लागि विदेशी लगानीकर्ता वा दातृ निकायहरुको मुख ताकेर बस्ने पुरानो अर्थतन्त्रको मक्किएका पुर्जाहरु घिसार्दैै हिँड्ने वा आफ्नै देशमा रोजगारीको अवसर उपलब्ध हुने उत्पादनमुखी अर्थतन्त्रको योजना बनाउँदै खुल्ला भएर यो महाद्धारमा प्रवेश गर्ने, लेखिका रोयले भने झैं, हामी आफैंले रोज्न सक्छौं ।
कोरोना भाइरसको यो महामारीका कारण अहिले हाम्रो अर्थतन्त्रका सारा पार्टपुर्जाहरु बन्द भएका छन् । यस्तो बन्दी सामान्य अवस्थामा सायदै हुन्थ्यो । तर, यसरी मेशिनका पुर्जाहरु बन्द हुँदाको फाइदा के हुन्छ भने यसका सम्पूर्ण पुर्जाहरुमा आरामले घोत्लिएर हेर्न पाइन्छ । मेशिनलाई दुरुस्त बनाउन कुन पुर्जा फेर्नुपर्ने हो, कहाँ, ‘लुब्रिकेन्ट’ हाल्नुपर्ने हो सबै ध्यानले हेर्न पाइन्छ ।
लकडाउनका कारणले फुर्सदिलो भएको यो समय हाम्रा लागि एउटा अवसर पनि हो, नयाँ अर्थतन्त्रको गोरेटो कोर्ने बारेमा सोच्ने । नेपालको अर्थतन्त्रसँग सम्बद्ध सबै सरोकारवालाहरुले अबको नेपालको अर्थतन्त्रलाई कुन बाटोमा कसरी लैजाले भनेर सोच्नु पर्ने बेला हो यो ।
कोरोनाले हाम्रो पुस्तालाई दिएको यो अवसर गुमाएर फेरी पनि हामी यो महामारी पछि पुरानै परनिर्भर अर्थतन्त्रको भारी बोकेर नयाँ विश्वमा प्रवेश गर्ने हो भने कम्तिमा अर्को ४-५ दशक नेपाली अर्थतन्त्रले कुनै गति लिने छैन । र, त्यति बेलासम्म अहिले युरोप र अमेरिका जस्तै हाम्रा एसियाली छिमेकीहरु चीन, भारत, बंगलादेश, भियतनाम, इन्डोनेशिया, दक्षिण कोरिया, ताइवान लगायत देशहरुले विश्व अर्थतन्त्रको नेतृत्व गरिरहेका हुने छन् ।
त्यसैले कारोनापछिको अर्थतन्त्र कस्तो हुनुपर्छ भन्ने बहसको शुरुवात गर्नका लागि मैले यहाँ आफ्ना केही सामान्य बुझाइहरु अघि सारेको छु ।
हाम्रो अर्थतन्त्रको अहिलेको सामान्य अवस्था
हाम्रोमा अहिले वार्षिक ८ अर्ब डलर हाराहारीमा रेमिट्यान्स भित्रिरहेको अवस्था हो । यसैगरी पर्यटन क्षेत्रले हामीलाई वार्षिक २ं.५ अर्ब डलर हाराहारीको आम्दानी दिइरहेको छ । हाम्रो वैदेशिक सहायता १.६ अर्ब डलर हाराहारी छ । समग्रमा भन्दा हाम्रो अर्थतन्त्रमा बाहिरी अर्थतन्त्रबाट आउने पैसा यति नै हो । हाम्रो निर्यात नगन्य छ । हाम्रो निर्यात भनेको नै जनशक्ति हो ।
यसरी अर्थतन्त्रमा आउने पैसाले उपभोग्य वस्तुहरुको आयात गरेर र त्यही आयात गर्दाको राजश्व संकलन गरेर नै हाम्रो अर्थतन्त्रको मुल इन्जिन चलेको छ भनेर भन्दा अत्युक्ति नहोला ।
आम्दानी र खर्च बराबर भएर मरिपनि नहाल्ने र धनी पनि नहुने अवस्थामा रहेको सामान्य परिवार जस्तै भएर रहेको हो हाम्रो देश ।
हामी वार्षिक १० अर्ब डलरभन्दा बढिको वस्तुहरु आयात गर्न थालिसकेका छौं । र, यो वर्षेनी १० प्रतिशत हाराहारीको दरले वृद्धि भइरहेको छ । हामी मुख्य रुपमा इन्धन (डिजेल, पेट्रोल, ग्यास इत्यादी), फलाम, इलेक्ट्रोनिक समानहरु, सुनचाँदी, औषधी, प्लास्टिकजन्य वस्तुहरु आयात गर्दै आएका छौं । हाम्रो कुल आयातको १७.१ प्रतिशत नै इन्धनले आगटेको छ । यसैगरी फलामले १२ प्रतिशत र कम्प्युटर लगायत इलेक्ट्रिोनिक सामानहरुले ९.१ प्रतिशत आयातको हिस्सा ओगटेका छन् ।
यसरी अर्थतन्त्रमा आएको पैसा त्यसैगरी बाहिर पठाउने र पैसा आउने र जाने क्रममा सरकारले कर र सिमित व्यवसायीले नाफा वा कमिशन खाएर हाम्रो अर्थतन्त्र घिटिघिटि चलेको अवस्था हो । र, आम्दानी र खर्च बराबर भएर मरिपनि नहाल्ने र धनी पनि नहुने अवस्थामा रहेको सामान्य परिवार जस्तै भएर रहेको हो हाम्रो देश ।
अब कोरोनाको महामारी फैलिएर विश्वभर आर्थिक मन्दी छाएपछि हाम्रा दुई प्रमुख स्रोतहरु, रेमिट्यान्स र पर्यटन सुक्ने भए । स्रोत घटेपछि बजारको माग घट्ने, माग घटेपछि आपूर्तिको श्रृङखला अवरुद्ध हुने, यस्तो सुस्त बजारको कारणले वित्तीय व्यवस्था खलबलिने र मुलुक चौतर्फी कारणले लामो र गहिरो आर्थिक मन्दीको सन्निकट आइपुगेको छ ।
अब के गर्ने
कुरा सिधा छ । आम्दानी घटेपछि खर्च घटाउने । आम्दानी र खर्चलाई अलि तल लगेर सन्तुलनमा मिलाएर राख्ने । एक हजार कमाउँदा एकै हजार खर्च गरेर सन्तुलन बनेको थियो भने अब पाँच सय कमाउँदा पाँच सय मात्र खर्च गरेर सन्तुलन मिलाउने ।
यसका लागि तत्काल विलासी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाउनु पर्यो । उदाहरणको लागि महङ्गा रक्सीहरुको आयातलाई रोक्न सकिन्छ । महङ्गा गाडीहरुको आयातलाई पनि रोक्दा भयो । त्यसको ठाउँमा बिजुली गाडीहरुको प्रोत्साहन दिँदा इन्धनको आयात पनि घटाउन सकिन्छ । खाना पकाउनका लागि ग्यासको विकल्पमा बिजुलीको प्रयोगलाई प्रोत्साहन गराउन सकिन्छ । यसका लागि अरुपनि विभिन्न वस्तुहरुको खोजी गर्न सकिन्छ, जसको आयात तत्काल प्रतिबन्ध लगाउन सकियोस् ।
तर, यो दिर्घकालिन समाधान भने होइन । यसको समस्या के छ भने एक हजार खर्च गर्दा बजार जति चलायमान हुन्थ्यो, जति रोजगारी सृजना हुन्थ्यो, पाँच सय खर्च गर्दा त्यति हुँदैन । त्यसैले तल्लो तहको सन्तुलन कायम गरेर बजार पहिले जत्तिकै चलायमान गराउन दोस्रो चरणमा उत्पादन बढाउन तर्फ लाग्नुपर्छ ।
यसका लागि सबैभन्दा पहिला हाम्रो प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको निक्य्रोल गर्नुपर्यो । उदाहरणको लागि कृषिलाई प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र मान्ने हो भने उत्पादन बढाउने तर्फ सोच्नुपर्यो । अनी उत्पादन मात्र बढाएर भएन, एक तहको मूल्य अभिबृद्धि पनि गराउनैपर्छ । मूल्य अभिवृद्धि गराउँदा उत्पादन पनि प्रशोधन हुने र रोजगारी पनि सृजना हुने हुँदा यसले विस्तारै अर्थतन्त्रमा माग बढाउँदै लैजान्छ र मन्दीबाट निक्लन सजिलो हुन्छ ।
त्यस्तै मदिरा आयात गर्न बन्द गरेपछि यहिँ गुणस्तरिय मदिरा उत्पादन गराउने तर्फ लाग्नु पर्यो । यसले पनि माथी भने झैं रोजगारी सृजना गर्दै लैजान्छ । यस्ता उदाहरणहरु धेरै हुनसक्छन् । पशुपालनको क्षेत्रमा पनि काम धेरै गर्न सकिन्छ । उद्योगको क्षेत्रमा पनि अवसरहरु नभएका होइनन् । सिमेन्ट उद्योगमा आफ्नो आत्मनिर्भरता उदाहरणीय नै छ । यस्तो उत्पादनमुखी हुनको लागि वित्तिय क्षेत्रको पनि प्रमुख भुमिका हुनछ । व्याजदरलाई एकदमै सन्तुलनमा कायम गर्नुपर्छ ।
सरकार पनि मितव्ययी हुनुको विकल्प छैन । चालु खर्चलाई धेरै भन्दा धेरै घटाएर पूँजीगत खर्चलाई व्यापक रुपमा बढाउनु पर्छ । पूर्वाधार निर्माण लगायतका पूँजीगत खर्चले पनि रोजगारी सृजना गर्नुका साथै उत्पादन बढाउन पनि मद्दत पुग्छ ।
अन्तमा, कुनै पनि नयाँ कुराको निर्माण पुरानो नभत्काई गर्न सकिदैंन । कतिपय अवस्थामा मान्छे आफैंले भत्काएर पूनर्निर्माण गर्ने जाँगर नचलाएको अथवा जोखिम लिन नचाहेको अवस्थामा विभिन्न रुपमा बाह्य हस्तक्षेपहरु हुने नै गरेका छन् । यो मानव सभ्यताको सामान्य प्रक्रिया हो । हामीले भुकम्पले भत्काएका माटाका घरहरु पक्की घरहरुले विस्थापित गरेका छौं । त्यसै अनुभवको आधारमा अहिले कोरोनाले भत्काउन लागेको पुरानो परनिर्भर अर्थतन्त्रको ठाउँमा नयाँ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न हामीलाई सफलता मिलोस ।
अहिले चाँही स्वस्थ रहौं, सोच्दै गरौं ।