लकडाउन खोल्न ट्रम्पले अघि सारे ‘ओपनिङ अप अमेरिका’ योजना, यस्ता छन् ३ चरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन् ।

 

ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा उनले आफ्ना प्रस्ताव सार्वजनिक गरेका हुन्। ‘ओपनिङ अप अमेरिका’ नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराएका छन् ।

 

उक्त निर्देशिकामा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ । लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनु पर्ने पूर्वशर्त राखिएको छ ।उनले आफ्ना प्रस्ताव लागू गर्नेबारे विचार गर्न पनि सबै राज्यलाई आग्रह गरेका छन्। प्रस्तावअनुसार सबै चरण कम्तिमा पनि १४ दिनसम्म लागू हुनेछ।

 

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । यहाँ शुक्रबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८० हजारको हाराहारीमा पुगेको छ भने साढे ३४ हजारभन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

 

यस्ता छन् ट्रम्पले प्रस्ताव गरेका ३ चरण

 

ट्रम्पको प्रस्ताव अनुसार पहिलो चरणमा ‘सामाजिक दूरी’को नियम लागू गरिनेछ, जसअनुसार विद्यालय तथा कार्यालय बन्द गरिनेछ । तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ । यसबाहेक, ‘अत्यावश्यक बाहेक’ को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ ।

 

यस चरणमा राज्यमा संक्रमणमा कमी आए दोस्रो चरण लागू गर्न सकिनेछ। यसअनुसार सीमित संख्याका कर्मचारीको उपस्थितिमा कार्यालय खोल्ने स्वीकृति दिन सकिनेछ। ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुने प्रतिबन्ध भने कायमै रहनेछ ।

 

तेस्रो चरण अन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ । ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा ‘सबैभन्दा ठूला परिवर्तन’ सामना गर्नु पर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नु पर्नेछ । ट्रम्पको योजनाअनुसार मे १ बाट ठूलो संख्यामा मानिस भेला हुन सक्नेछन्।

कोरोना रोकथाम कोषमा सिभिल बैंकको ८७ लाख सहयोग Read Previous

कोरोना रोकथाम कोषमा सिभिल बैंकको ८७ लाख सहयोग

कोरोना संकटलाई यसरी नयाँ अर्थतन्त्रको गोरेटो कोर्ने अवसरमा परिणत गरौं : प्रबलजंग पाण्डेको विचार Read Next

कोरोना संकटलाई यसरी नयाँ अर्थतन्त्रको गोरेटो कोर्ने अवसरमा परिणत गरौं : प्रबलजंग पाण्डेको विचार