कोरोनासँग लडिएला, यही तरिकाले अर्थतन्त्र कसरी बचाउने : सौरभ ज्योतिको विचार

लेखक: ज्याेति

अहिले कोरोना (कोभिड १९) को कारण विश्व अर्थतन्त्रमा परेका असरको बारेमा क्षेत्रगत रुपमा तथ्यांक संकलन सुरु भएको छ । अहिलेको विषाम परिस्थितिले विश्वका ठूला अर्थतन्त्रलाई समेत हल्लाएको छ ।

 

यो लेख्दासम्म विश्वभर करिब १९ लाख मानिस भाइरसको संक्रमणमा परिसकेका छन् । तर, भाइरस संक्रमित नभएका करिब ७ अर्ब मानिसलाई यसको कारण सृजित भयले, तत्कालको जीविकाको समस्याले र भाइरस पछि आउने आर्थिक संकटले पिरोलेको छ । आर्थिक संकटको कुरा गर्दा अबको दिनमा विश्व चरम आर्थिक मन्दीमा फस्ने लगभग निश्चित नै भइसकेको छ । र, यो सन् २००८ को आर्थिक मन्दीभन्दा ठूलो हुने पक्का मान्न थालिएको छ ।

 

यसको असर सबै तह र तप्कामा काम गर्ने समूदाय, वर्ग र सम्पूर्ण मानवजातिमा परेको छ । यस्ता महामारीसँग लड्न विश्वभरका सरकार, स्वास्थ्यसँग सम्बन्धित निकायहरु दिनरात नभनि काम गरिरहेका छन् । यद्यपी कोभिड १९ विरुद्धको लडाईबाट तत्काल पारपाउने अवस्था देखिएको छैन ।

 

अहिले जुन हिसाबले सरकारका नेतृत्व गर्नेहरुले अर्थतन्त्रको कुरा गरिरहेका छन् । यसले एउटा गम्भीर प्रश्न उठाएको छ । अब नेपालको अर्थतन्त्र कसले बचाई दिन्छ ?

 

फोर्ब्सले केही दिनअघि सार्वजनिक गरेको एक प्रतिवेदनले विश्वभर १० करोडभन्दा बढी मानिसले यही माहामारी कै कारण रोजगारी गुमाउने तथ्यांक बाहिर ल्याएको थियो ।

 

यसैगरी अबको आर्थिक मन्दी सन् २००८ को जस्तो छोटो नहुने बताउन थालिएको छ । अब हुने आर्थिक मन्दीलाई सन् १९३० को ‘ग्रेट डिप्रेशन’ सँग तुलना गर्न थालिएको छ । यस्ता खाले आर्थिक डिप्रेशनबाट उस्कन ८ देखि १० वर्ष लाग्ने अर्थशास्त्रीहरुको आँकलन छ ।

 

नेपालमा अहिलेसम्म कोरोनाको कारण मानवीय क्षति भएको छैन । सरकारले समयमा गरेको लकडाउनले नेपालमा कोरोना सामुदायिक स्तरमा फैलन पाएन । अझ प्रभावकारी ढंगले काम गर्दै गए अबका दिनमा यसको प्रभाव विस्तारै न्यून हुँदै पनि जाला ।

 

तर, यो भाइरस र यसको प्रभाव न्यूनीकरण गर्नका लागि सरकारले चालेका कदमले अर्थतन्त्रमा दीर्घकालीन रुपमै ठूलो असर पर्ने पक्का भइसकेको छ । विगत तीनहप्ता देखि लकडाउनमा रहेको कारण यहाँका औद्योगिक प्रतिष्ठानहरु ठप्प छन् । यसको ठूलो असर अर्थतन्त्रमा पर्ने विषय अत्यन्तै स्वभाविक हुन् ।

 

पहिलो काम

 

लकडाउनको समय सकिएपछि यसले अर्थतन्त्रमा पारेको वृहत असरको लेखाजोखा गर्नु पर्छ । नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतका निकायले त्यसको नेतृत्व गर्न अग्रसता देखाउनु पर्ने हुन्छ । असर लेखाजोखा गर्नका लागि अध्ययन समितिहरु बन्न लागेका भन्ने कुराहरु बाहिर आएका छन्, जुन सकारात्मक छन् ।

 

नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । यस्तोमा कोरोना संकट टरे पनि अर्थतन्त्रमा आउने संकटसँग जुध्न नयाँ तरिकाले लाग्नु पर्ने हुन्छ । अहिलेसम्म सरकारले कुनै किसिमको घोषणा गरेको छैन । अहिले जुन हिसाबले सरकारका नेतृत्व गर्नेहरुले अर्थतन्त्रको कुरा गरिरहेका छन् । यसले एउटा गम्भीर प्रश्न उठाएको छ । अब नेपालको अर्थतन्त्र कसले बचाई दिन्छ ?

 

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने पछिल्ला दिनहरुमा विश्वका धेरै अर्थतन्त्रहरुले ठूलो आर्थिक सहायताको प्याकेजहरु घोषणा गरिसकेका छन् । भारतले कुल ग्राहस्थ उत्पादनको करिब १ प्रतिशत आर्थिक सहायतको प्याकेज घोषणा गरेको छ । अमेरिकाले करिब १० प्रतिशत, अर्थात २ हजार अर्व डलरको प्याकेज ल्याएको छ । यसैगरी हालसम्मको सबैभन्दा बढी मलेसियाले कुल ग्राहस्थ उत्पादनको १६ प्रतिशत हुन आउने रकम आर्थिक सहायताको प्याकेजको रुपमा ल्याएको छ । नेपालले भने हालसम्म यस्तो खाले कुनै प्याकेजको घोषणा गरेको छैन ।

 

यस्तो आर्थिक संकटको बेलामा एकैपटक भन्दा पनि चरणबद्ध रुपमा आर्थिक सहायताको प्याकेज घोषणा गर्ने गरिएको भए पनि नेपाल सरकारले त्यसो गरेको छैन । एकै पटक ल्याउन लागेको हो वा ल्याउँदै नल्याउने हो, यसै भन्न सकिने अवस्था छैन ।

 

वि.सं.२०७२ सालमा गएको महाभूकम्प र नाका बन्दीको समयमा उत्पादन बढाउने विषयलाई खुब जोडतोडले बहसमा ल्याइयो । तर, त्यो केवल बहसमा मात्रै सिमित हुँदा हाम्रो उत्पादन क्षमतामा केही फरक भएको पाईएन ।

 

हाम्रासामु धेरै चुनौती आउने देखिएको छ । करिब १० लाख वैदेशिक रोजगारीमा गएका मानिस फिर्ता आउने आंकलन सुरु भएको छ । कोरोनासँगै तेलको अर्थतन्त्र धर्मराएको छ । यस्तोमा नेपाल सरकारले रेमिटेन्सको विकल्प के हुन सक्छ भन्ने सोच्नु पर्छ । नेपालको रेमिट्यान्सको ठूलो हिस्सा तेल अर्थतन्त्रमा निर्भर मध्यपूर्वी देशहरुबाट नै आउने गरेको छ ।

 

यसरी आउने ठूलो जनसंख्यालाई उचित आर्थिक अवसर वा रोजगारीको व्यवस्था गर्न नसक्ने हो भने त्यसले आर्थिक मात्र नभएर बृहत राजनीतिक र सामाजिक समस्याहरु पनि निम्त्याउने निश्चत नै छ ।

 

यहाँ भएका साना, मझौला र केही ठूला उद्योग उठ्नै नसक्नेगरि थला पर्ने निश्चित प्रायः रहेको छ । यस्तोमा सरकारले उद्योग बचाउन विशेष प्याकेज ल्याउनुको विकल्प छैन । अहिले अर्थतन्त्रको विषयमा हचुवाको भरमा टिका टिप्पणी भइरहेको छ । यसको दिर्घकालिन असर कस्तो पर्छ भन्ने आँकलन गर्न नसक्ने हो भने नेपालमा रहेका केही उद्योगहरु पनि बन्द हुने छन् ।

 

वि.सं.२०७२ सालमा गएको महाभुकम्प र नाका बन्दीको समयमा उत्पादन बढाउने विषयलाई खुब जोडतोडले बहसमा ल्याइयो । तर, त्यो केवल बहसमा मात्रै सिमित हुँदा हाम्रो उत्पादन क्षमतामा केही फरक भएको पाईएन । नाकाबन्दी पछि केही ऐन कानुनहरु उद्योग व्यवसायसँग सम्बन्धित नबनेका होइनन् ।

 

तर, बनेका कानुनको सफल कार्यान्वयन नहुनु र निजी क्षेत्रलाई खुम्च्याउन खोज्नुले देशको अर्थतन्त्रमा उल्लेखनिय सुधार आउन सकेन । बरु तीन तहको सरकारले लगाउने करले उत्पादन लागत बढ्न गई धेरै उद्योगहरु रुग्ण बन्न सुरु भएका थिए । यसरी रुग्ण बन्न सुरु भएका उद्योगलाई अहिलेको कोरोना संकटले पूर्णरुपमा रुग्ण बनाउने देखिएको छ ।

 

यद्यपी यसको बीचमा विभिन्न तथ्यांकले दक्षिण एसियाले यसको महामारीबाट चाँडै निस्कन सक्ने देखाएको छ । त्यसको लागि सरकार र निजी क्षेत्रले समेत अहिल्यैबाट सोच्न सुरु गर्नु पर्छ ।

 

सरकारी भूमिका

 

सरकार अभिभावक हो । उसले आफ्नो परिवारको संरक्षण गर्न सक्नु पर्छ । अहिलेको विपत्तीसँग लडेर अगाडि जाँदा हाम्रो उत्पादन क्षमता बढ्न सकेन भने हामी झनै संकटमा जाने छौं । यो समय सबै खर्च कटाएर भएपनि उत्पादन वृद्धि गर्नु पर्ने समय हो । हाम्रो उत्पादन वलियो नभइ राष्ट्रियता वलियो नबन्ने अहिलेको यूगमा राष्ट्रियतालाई वलियो बनाउन पनि उत्पादन बढाउनु पर्ने हुन्छ ।

 

अहिले उद्योगी व्यवसायीले आफ्नो वर्किङ क्यापिटल समेत गुमाइसकेका छन् । यस्तोमा अर्थतन्त्र जोगाउन सरकारले ल्याउने प्लानले हाम्रो भोलिका दिन कस्तो रहने भन्ने निर्धारण गर्छ ।

 

कम्तीमा एक वर्षको रि–पेमेन्टको प्लान बनाउन सक्ने हो भने निजी क्षेत्रले यसमा काम गर्न सक्नेछ । अहिले कोरोनाको डरमा छौं, तर त्यसपछि आउने समस्यामा हामीले केही सोचेका छौ त ? कोरोना भन्दा खतरा अर्थतन्त्रमा आउने स्लोडाउनले हामीलाई ठूलो संकटमा पार्नेछ । यतातर्फ हामीले सोच्न ढिला गर्नु हुँदैन ।

सबैको आ-आफ्नै चिन्ता

 

अहिलेको संकट हामी कहाँ मात्रै आएको हैन । विश्व व्यापिरुपमा परेको संकटले विश्वका ठूला अर्थतन्त्र चीन, अमेरिका, बेलायत, फ्रान्स, इटली, भारत, कोरिया जस्ता देशमा नै संकटको अवस्था रहेकाले हामीले कहिबाट ठूलो सहयोगको अपेक्षा गर्न सक्ने ठाँउ छैन ।

 

आफ्नै साधन र स्रोतको अधिकतम प्रयोगगर्दै अगाडि बढ्नु पर्ने अहिलेको अवस्थामा सरकारले निकै गम्भिर भएर अगाडिको बाटो तय गर्नु पर्ने हुन्छ । यस्तोमा सरकारले अर्थतन्त्र जोगाउन गर्ने प्रयाससँग हाम्रो भविष्य जोडिएको छ ।

 

निष्कर्ष

 

हरेक विपत्तिले केही अवसरहरु पनि ल्याउँछ । अहिलेको संकटमा नेपालमा अद्भुत एकता देखिएको छ । यो सकारात्मक उर्जालाई उत्पादन मुलक गतिविधिमा लगाउन सके रेमिट्यान्समा मात्र आधारित हाम्रो अर्थतन्त्रको केही नयाँ क्षितिजहरु पो उघारिन्छन् की ?

 

कोरोना विरुद्ध हाम्रा पहल सार्थक बनाउनु हामी सबैको कर्तव्य हो भने त्यसपछि हाम्रो नयाँ गन्तब्य निर्धारण गर्ने काम सरकारको हो । अहिले उद्योगी व्यवसायीले आफ्नो वर्किङ क्यापिटल समेत गुमाइसकेका छन् । यस्तोमा अर्थतन्त्र जोगाउन सरकारले ल्याउने प्लानले हाम्रो भोलिका दिन कस्तो रहने भन्ने निर्धारण गर्छ ।

चिनियाँ कम्पनीले पायो नयाँ गभर्नर अधिकारीको हस्ताक्षर हुने ६४ करोड थान नोट छाप्ने जिम्मा Read Previous

चिनियाँ कम्पनीले पायो नयाँ गभर्नर अधिकारीको हस्ताक्षर हुने ६४ करोड थान नोट छाप्ने जिम्मा

सवारी पासमा कडाइ, अब मलामी जाने बाहेक अरुले नपाउने Read Next

सवारी पासमा कडाइ, अब मलामी जाने बाहेक अरुले नपाउने