वायु सेवा निगमका कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

 

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको हो।

 

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि ३ महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बन्नुभएको थियो ।

 

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गर्नुभएको थियो । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

 

कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

 

त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

 

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए ।

डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन, चीन केन्द्रित भएको आरोप Read Previous

डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन, चीन केन्द्रित भएको आरोप

जानी जानी कोरोना भाइरस सारे १० वर्ष जेल Read Next

जानी जानी कोरोना भाइरस सारे १० वर्ष जेल