डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहायता रोक्न ट्रम्पको निर्देशन, चीन केन्द्रित भएको आरोप

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् ।

 

राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई चीन केन्द्रित भइरहेको आरोप लगाउँदै डब्ल्यूएचओ दिँदै आएको आर्थिक सहायता रोक्न निर्देशन दिएका हुन् । कोरोना भाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको उनको आरोप छ।

 

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्छ जसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थिए। यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशतभित्र पर्छ।

 

चीनमा कोरोना भाइरस देखिएपछि सङ्क्रमण सम्बन्धी विषयलाई सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको पनि राष्ट्रपति ट्रम्पले आरोप लगाए।

 

डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ। यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए।

 

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिइरहेका छन्। तर मङ्गलवार उनले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका थिए।

 

अमेरिका कोरोनाभाइरस महामारीको अहिले केन्द्रबिन्दुमा छ जहाँ ६,१४,२११ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६,०६४ जनाको मृत्यु भएको छ।

कोरोना महामारीकै बीच कोरियामा निर्वाचन सुरु, सङ्क्रमितले पनि भोट हाल्न पाउने Read Previous

कोरोना महामारीकै बीच कोरियामा निर्वाचन सुरु, सङ्क्रमितले पनि भोट हाल्न पाउने

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त Read Next

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त