काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
आइक्यानले सो रकम आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आइक्यानको परिषदरको चैत्र ३० गतेको भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
बैठकले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमणसहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौती गर्ने समेत निर्णय गरेको छ ।यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ ।
कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको आचार्यले बताए । यसैगरी लेखा व्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।
यस्तै अनलाइन लर्निङ प्लेटफर्म तयार गरी भर्चुअल ट्रेनिङका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको उनले बताए ।
संस्थाले विदेशी लेखा व्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल ट्रेनिङ र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा बापतको सीपीई आवर प्रदान गर्ने समेत निर्णय गरेको छ ।
आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।