यस्ताे छ कोरोना रोकथामका लागि सरकारले अपनाएकाे ६ ‘टी’ रणनीति

काठमाडौं । सरकारले कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित गर्नका लागि ‘६ टी’ रणनीति अन्तर्गत यस विषयलाई प्राथमिकतामा राखेको हो ।

 

यस्तै सरकारले कोरोना संक्रमण बाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामीहरु थप समस्यामा नपर्ने गरी सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

 

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित गर्नका लागि मन्त्रालयले अपनाएका ‘६ टी’ रणनीति यस्ता छन् :

 

पहिलो टी : ट्राभल रेष्ट्रिक्शन

 

पहिलो टी अर्थात ट्राभल रेष्ट्रिक्शन । जस अन्तर्गत आवतजावत बन्द गरिएको छ । यस अन्तर्गत बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । देशभर चैत्र १० गतेदेखि ‘लकडाउन’ आह्वान गरिएको छ ।

 

हाल धेरै देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । लकडाउनले सर्वसाधारणमा केही असहजता भए पनि देशलाई संक्रमणबाट बचाउन यो अपरिहार्य रहेको छ ।

 

दोस्रो टी : टेष्टिङ

 

यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञको सुझावमा कार्यविधि बनाई व्यवस्थित गरिएको छ ।

 

तेस्रो टी : ट्रेसिङ

 

ट्रेसिङ भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमित नजिकको सम्पर्कमा आएका छन्, त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । सरकारले धेरैजसो संक्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेको जनाइएको छ ।

 

पछिल्लो समयमा पहिचान भएका संक्रमितको ट्रेसिङ कार्य भइरहेको छ । यो कार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

 

चौथो टी : ट्रयाकिङ

 

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रयाकिङ कार्य हो ।

 

यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइट मार्फत ट्रयाकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ ।

 

पाँचौ टी : ट्रिटमेन्ट

 

सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ ।

 

कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकष्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामी थप समस्यामा नपर्ने गरी सेवा प्रवाह गर्न अनुरोध गरिएको छ ।

महामारीको घडीमा गैह्रसरकारी तथा सरकारी सबै अस्पतालहरुबाट उपचार गर्नु पर्ने जनाइएको छ । देश भरका सबै अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ ।

 

छैठौं टी : टुगेदर

 

कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र नभई सबै लागि पर्नु पर्ने बताइएको छ । उच्च स्तरीय समिति, सीसीएमसी देखि लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न तहमा कमिटीहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको जनाइएको छ ।

कोरोना कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १ करोड सहयोग Read Previous

कोरोना कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १ करोड सहयोग

निगमले गर्‍यो लकडाउनमा पनि ५ चार्टर्ड उडान Read Next

निगमले गर्‍यो लकडाउनमा पनि ५ चार्टर्ड उडान