आवश्यक बिल–बिजक नदेखाउँदा चर्चित डिपार्टमेन्टल स्टोर सेल्वेज कारवाहीमा

काठमाडौं । सेल्वेजलाई वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले २० हजार रुपैयाँ जरिवाना गरेको छ । बिक्री गरेको सामग्रीको आवश्यक बिल–बीजक नदेखाएको भन्दै विभागले महाराजगंज स्थित सेल्वेजलाई कारवाही गरेको हो ।

 

विभागले बजार अनुगमन तथा निरीक्षणको कामलाई तिब्रता दिनेक्रममा सेल्वेज क्यास एण्ड क्यारीलाई कारवाही गरेको हो ।

 

विभागका शाखा अधिकृत दिपक पोखरेलका अनुसार सेल्वेजसँग खरिदको बिल माग गर्दा देखाउन नसकेपछि कारवाही अघि बढाइएको हो । सेल्वेजसँग १ हप्ताभित्र २० हजार रुपैयाँ जरिवाना बैंकमार्फत तिर्न निर्देशन दिइएको उनले बताए । साथै कम्पनीलाई अखाद्य तथा म्याद सकिएका वस्तुहरु तत्काल नष्ट गर्न निर्देशन दिइएको छ ।

 

उनले विभागले हाल मार्ट तथा खाद्य विक्री केन्द्रहरुमा अनुमगनलाई तिब्रता दिइरहेको बताए । यस्तै विभागले, ग्यास, मासु पसल, खाद्य पसलहरुमा विशेष उजुरी सहित कारोबार गरिरहेको उनले बताए ।

 

‘हामी लगातार अनुगमन गरिरहेका छौँ, खाद्यमा उपभोक्ताले बढि शुल्क तिर्नु नपरोस भनेर विशेष ध्यान पुर्याइएको छ,’ पोखरेलले भने ।
उनले विभागले पछिल्लो समय गरेको अनुगमनका क्रममा मासु पसलहरुले बढि मुल्य लिएको पाइएको बताए । खाद्य विक्री केन्द्रहरुले विक्री बिल जारी नगरेको पाइएको उनले बताए ।

 

विभिन्न खाद्य पसलहरुले म्याद सकिएका सामग्री विक्रीमा राख्ने गरेको पाइएको भन्दै उनले उपभोक्ताहरुलाई सामानको मूल्य र म्यादमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।

 

विभागमा हालसम्म ७ सय ८७ गुनासो प्राप्त भएको उनले बताए । उनका अनुसार प्राप्त गुनासो मध्ये १ सय ६ वटा गुनासोको समाधान भइसकेको छ ।

 

आएका गुनासाहरु मध्ये ५३ वटा प्रशोधनका विषयमा रहेका र तिनमा अनुसन्धान गरिदै गरेको उनले बताए ।

 

यस्तै आएका गुनासाहरु मध्ये १ सय ६ वटा गुनासोका विषयमा आयल निगमले अनुमनको जिम्मा लिएको छ । ३६ वटा गुनासोहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई समाधानका लागि दिइएको छ ।

 

१२ वटा जिल्ला प्रशासन कार्यालय काठमाडौं, ५ वटा जिल्ला प्रशासन कार्यालय कास्की र ५ वटा जिल्ला प्रशासन कार्यालय कैलालीलाई समाधानका लागि जिम्मा दिइएको छ ।

 

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले ४७ वटा गुनासाहरुमा समाधान गरिरहेको छ ।

विस्तारकारी वित्तीय नीति अवलम्बन गर्न परिसंघको माग Read Previous

विस्तारकारी वित्तीय नीति अवलम्बन गर्न परिसंघको माग

भाइरस संक्रमणमा केही कमी आउन थालेसँगै स्पेनको लकडाउन केही खुकुलो, ३ लाख कामदार काममा फर्किए Read Next

भाइरस संक्रमणमा केही कमी आउन थालेसँगै स्पेनको लकडाउन केही खुकुलो, ३ लाख कामदार काममा फर्किए