स्पेनको म्याड्रिड सहरमा करिब ३ लाख कामदारहरु काममा फर्किएका छन् । लकडाउन पछि अत्यावश्यक बाहेकका क्षेत्रका कामदारहरु काममा फर्किएको यो पहिलो अवसर हो । स्पेनमा पछिल्लो समय लकडाउन केही खुकुलो भएसँगै उनीहरु काममा फर्किएका हुन् ।
लकडाउनको दोस्रो महिनामा स्पेनले लकडाउनलाई केही खुकुलो बनाएको हो । यो सँगै निर्माण र उत्पादनको क्षेत्रका कामदारहरु काममा फर्किएका हुन् । तर, पसल, रेष्टुरेन्ट, बार इत्यादी भने बन्द नै छन् ।
स्पेन कोरोना भाइरसको महामारीले सबैभन्दा बढि प्रभावित भएको देश मध्येको हो । हालसम्म १ लाख ७० हजार भन्दा बढि संक्रमित रहेको स्पेनमा १७ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् ।
प्रधानमन्त्री पेड्रो सान्चेचले लकडाउनलाई बिस्तारै खुकुलो बनाउँदै लैजाने बताएका छन् । उनले जनजिवनलाई सामान्यतर्फ डोर्याउने काम बिस्तारै गरिने बताएका हुन् । तर, यसका लागि उनले सबैले आफ्नो स्वास्थ्यको लागि सरकारले तोकेको न्यनतम मापदण्डको भने पालना गर्नुपर्ने बताएका छन् ।
यसैबिच सरकारले १० लाख मास्कहरु मेट्रो स्टेशन लगायत यातायात केन्द्रहरुमा बाँडिने जनाएको छ । सामाजिक दुरी र हात धुने क्रियाकलापलाई पनि सरकारले बिशेष जोड दिएको छ ।
अहिलेसम्म स्पेनको केन्द्रिय सरकारले १० लाख भाइरस टेस्टिङ किट देशभर बितरण गरिसकेको छ भने ५० लाख किट आउने दिनहरुमा बितरण गरिने जनाएको छ ।
हाल स्पेनले आगामी अप्रिल २६ तारिखसम्म संकटकाल घोषणा गरेको छ ।