काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका लागि २०७६ साल सुखद रुपमै बितेको छ । यस वर्ष अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा सुधारात्मक कार्य भएको देखिन्छ । वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको बैंक खाता खोल्ने अभियानको शुरुवात गरेका थिए । वर्षको अन्त्यमा केन्द्रीय बैंकले नयाँ गभर्नर पायो ।
वर्ष २०७६ मा बैंकिङ क्षेत्रमा भएका मुख्य काम र घटना यस प्रकार छन् :
ह्याकरको निशानामा नेपाली बैंक
वर्षको मध्यतिर नेपाली बैंकिङ क्षेत्रलाई ह्याकरले आतंकित बनाए । भदौ १५ गते चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न बैंकको एटीएम ह्याक गरी करिब ६ करोड रुपैयाँ चोरेका थिए । एटीएम ह्याकको २ साता बित्न नपाउँदै फेरि असोज २ गते कृषि विकास बैंकको कर्मचारीकै मिलेमतोमा ४ करोड रुपैयाँ लुटियो । यी घटनाले नेपाली बैंकिङ क्षेत्रको सुरक्षाको अवस्था र चुनौती प्रस्ष्ट पारिदियो ।
मंसिर २६मा प्रहरीले विभिन्न बैंकको सिस्टम ह्याक गर्ने कार्यमा संलग्न १८ जनालाई पक्राउ गरेको थियो । प्रहरी अनुसनधान बाट नेपाली एजेन्टको सहयोगमा विदेशी ह्याकरले नेपाली बैंक लुट्ने गरेको तथ्य खुलेको थियो । प्रहरीका अनुसार यस वर्ष ह्याकरहरुले करिब १७ करोड रुपैयाँभन्दा बढी रकम विदेश लगेको अनुमान गरिएको छ ।
बिग मर्जरको शुरुवात
सरकारको योजनाअनुसार नै यस वर्ष ‘बिग मर्जर’ को अभियान शुरु भयो । ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल एकापसमा गाभिएर ग्लोबल आइएमई बैंकका रुपमा एकीकृत कारोवार शुरु गर्याे। गत मङ्सिर २० गतेदेखि एकीकृत कारोवार शुरु गरी बिग मर्जरको नाम लेखाउन उनीहरु सफल भए । मर्जरपछि ग्लोबल आइएमई चुक्ता पूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्यो । बैंकको कुल चुक्ता पूँजी १९ अर्बभन्दा बढी पुगेको छ ।
यस्तै नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियामा नै रहेका छन् । गत माघसम्म १८५ बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने प्रक्रियामा सहभागी भई १४० वित्तीय संस्थाको इजाजत खारेज भयो । यस्तै एनएमबी बैंक, प्राइम बैंकले पनि मर्जर र प्राप्तिको प्रक्रिया अगाडि बढाए । निजी क्षेत्रमा मात्रै नभई सरकारको योजनामा नै नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड एकअर्कामा गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका रुपमा कारोवार शुरु भयो ।
यस्तै, हिमालयन बैंकसँग २६ वर्षको सहयात्रा गरेको पाकिस्तानको हबिब बैंक बाहिरिएको छ । हबिबको सेयर कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ‘सिडिसी’ले लिएको छ । हबिबसँग हिमालयन बैंकको २० प्रतिशत सेयर थियो ।
डेपुटी गर्भनर शिवराज श्रेष्ठको निलम्बन र सफाइ
नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनर शिवराज श्रेष्ठ कात्तिक १८ गते निलम्बनमा परे । श्रेष्ठमाथि वित्तीय स्थायित्वमा खलल पर्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा विभिन्न उजुरी परेको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भूमिका खेलेको लगायतका आरोप लागेको थियो । श्रेष्ठमाथि लागेको आरोप बारे छानविन गर्न गठित समितिले छानविनका क्रममा उनी दोषि नरहेको ठहर गरेको थियो । त्यसपछि उनले माघ २ गते सफाइ पाएका थिए ।
यस्तै, यस वर्ष कर्जा अपचलन गरेको अभियोगका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परे । खोलाको जग्गालाई राजमार्ग छेउको भनी एक व्यावसायिक फर्मलाई ४ करोड ऋण दिएको अभियोग श्रेष्ठमाथि लागेको थियो ।
राष्ट्र बैंकका सुधारका पहल
यस वर्ष नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा रहेका विकृति तथा समस्या समाधानका लागि दर्जनौं काम गरेको छ । जसअन्तर्गत राष्ट्र बैंकले दर्जनौं निर्देशन तथा सर्कुलर जारी गर्यो । बैंकहरुले निक्षेप तान्न विभिन्न उपहारको स्किम ल्याउन थालेपछि राष्ट्र बैंकले वैशाख २६ गते निर्देशन जारी गर्दै यस्तो नगर्न निर्देशन जारी गर्यो । यस्तै वैशाख २९ गते निर्देशन जारी गर्दै ९० दिनभन्दा कमको मुद्दती निक्षेप संकलन गर्न नपाउने व्यवस्था गर्यो ।
यस्तै जेठ ६ गते बैंकहरुलाई सम्पूर्ण एटीएम मेसिनमा नेपाली भाषा प्रयोग गर्न निर्देशन दियो । मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्यो ।
नेपाल राष्ट्र बैंकले साउन २० गते एउटा निर्देशन जारी गर्दै बैंकको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको उमेर हद तोक्यो । ६५ वर्षभन्दा बढी उमेर भएका व्यक्ति बैंकको सीईओ हुन नपाउने र ७० वर्ष कटेका व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्था गर्यो ।
ह्याकरको बिगबिगी बढेपछि भदौ २४ गते बैंक तथा वित्तीय संस्थालाई आइटी प्रणालीको सेकुरिटी अडिट गर्न निर्देशन दियो । यस वर्ष बैंकहरुले विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नु पर्ने (गोएएमएल) प्रणाली, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली अनिवार्य रुपमा लागू गरायो । बैंकहरुले कृषि क्षेत्रमा मात्र सहूलियतपूर्ण कर्जा जारी गरेपछि अन्य क्षेत्रमा पनि न्यूनतम ऋण जारी गर्नु पर्नेगरी कोटा तोक्यो ।
यस्तै राष्ट्र बैंकले कोरोनाको चपेटामा पिल्सिएका व्यापारी उद्योगी लगायत ऋणीलाई राहत स्वरुप चैतमा बुझाउनु पर्ने ऋणको किस्ता असार मसन्तसम्म तिर्न पाउने व्यवस्था गर्यो । यदि ऋणीले चैतमै किस्ता तिरे ब्याजमा १० प्रतिशत छुट पाउने व्यवस्था गर्यो ।
राष्ट्र बैंकमा नयाँ गभर्नर
वर्षको अन्त्यतिर नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पायो । चैतको २३ गते राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा महाप्रसाद अधिकारी नियुक्त भए । गभर्नर रिक्त भएको १८ दिनपछि राष्ट्र बैंककै क्याडर अधिकारीले गभर्नरमा नियुक्त भएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थमन्त्रालका पूर्व सचिव राजन खनाल र अधिकारीलाई गभर्नरका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै अधिकारीले राष्ट्र बैंकको बागडोर सम्हाले । केन्द्रीय बैंकको नेतृत्वमा पुगेका उनलाई कोरोनाले थङथिलो बनाएको अर्थतन्त्र उकास्ने चुनौती छ ।