लकडठाउनको मौका छोपी नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।

 

राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ ।

 

वडा नं २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयवासी हेमन्त चौधरीले बताए ।

 

राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ ।

 

राप्ती नदीबाट दैनिक सयौंँ घनमिटर ढुङ्गा अवैध रुपमा उत्खनन हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको पूर्वसभासद् एवम् स्थानीय अगुवा पट्टु थारु चिन्ता व्यक्त गर्छन् ।

 

गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

 

उनले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा स् गाउँपालिकालाई सहयोग गर्न स्थानीयवासीलार्ई आग्रह गरे ।

 

एक टिपर नदीजन्य पदार्थ उत्खननका लागि रु चार हजार रोयल्टी तिर्नुपर्ने भए पनि बन्दाबन्दीको मौका छोपेर रातको समयमा अवैध उत्खनन हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजश्व घाटा भएको छ ।

 

अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले १४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेकामा यस वर्ष चार पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफूहरु कोरोना भाइरस महामारी फैलिएका समयमा जनतालाई राहत दिनेतर्फ लागेकाले नियमित अनुगमन गर्न नसके पनि अवैध उत्खननमा रोक लगाउन प्रहरीलाई खबर गरिएको बताए ।रासस

अब अति आवश्यक सवारी साधन सञ्चालनका लागि अनलाइन बाटै पास पाइने Read Previous

अब अति आवश्यक सवारी साधन सञ्चालनका लागि अनलाइन बाटै पास पाइने

बैंकिङ क्षेत्र वर्ष २०७६ : ह्याकरको बिगबिगी, बिग मर्जरको शुरुवात Read Next

बैंकिङ क्षेत्र वर्ष २०७६ : ह्याकरको बिगबिगी, बिग मर्जरको शुरुवात