काठमाडौं। कोरोना भाइरस महामारीको संक्रमण विस्तार रोक्नका लागि सरकारले लगाएको लकडाउनमा पनि अत्यावश्यक वस्तु आयात रोकिएको छैन् । लकडाउनको १७ दिनको अवधिमा मुलुकमा ३७ हजार ३३३ मेट्रिकटन खाद्यान्न आयात भित्रिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चैत ११ देखि २७ गते सम्म ३७ हजार ३३३ मेट्रिकटन खाद्यान्न र २१ हजार ६२५ टन तरकारी आयात भएको भएको हो ।
यो अवधिमा १४ हजार ५३ टन गेडागुडी तथा दलहन र ६९ टन दुग्धपदार्थ आएको छ। यसबाहेक तयारी औषधि पनि ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांक छ।
विभागका अनुसार १ गतेदेखि २८ गतेसम्म ३९ हजार ८९३ मेट्रिक टन खाद्यान्न आयात भएको छ। यसैगरी यो अवधिमा २२ हजार ७६४ मेट्रिक टन तरकारी, १५ हजार ५९६ मेट्रिक टन दलहन तथा गेडागुडी र ६ हजार ८६ मेट्रिक टन फलफूल आयात भएको छ। यस्तै लकडाउनकै बीचमा ७९ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको विभागले जनाएको छ।
सरकारले लकडाउनका अवधिमा पनि यी अत्यावश्यक वस्तुहरूको आयात सुचारु राख्ने निर्णय गरेको थियो । मुलुकमा उत्पादित खाद्यान्नले आन्तरिक माग धान्न नसक्ने कारण नेपालले हरेक वर्ष अर्बौंको खाद्यान्न, तरकारी, फलफूल आयात गर्दै आएको छ ।