काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसका कारण उद्योग, व्यापार तथा व्यवसायमा चौपट भएको भन्दै राष्ट्र बैंकलाई गुहारेको छ ।
आइतबार केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी महासंधकी अध्यक्ष भवानी राणाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका कारण उद्योग, व्यापार तथा व्यवसायमा पर्न गएको असर वारेमा ध्यानाकर्षण गराउंदै राष्ट्र बैंकबाट हुनुपर्ने सहयोगका विषयमा सुझाव प्रस्तुत गरेकी हुन् ।
लकडाउन समाप्त भएपछि कम्पनी तथा फर्म खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुने भएकोले बैक तथा वित्तीय संस्थाबाट ऋण लिई पुस मसान्तसम्म नियमित कारोबार गरिरहेका ग्राहकलाई स्वीकृत सीमा भन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गर्न महासंघले माग गरेको हो ।
ऋणीले उक्त थप कर्जा १२० दिन भित्र चुक्ता गर्ने व्यवस्था मिलाइनु पर्ने र यसरी थप कर्जाका कारण ऋण तथा सम्पत्ति अनुपातमा असन्तुलन भएपनि मान्य हुने व्यवस्था गर्न पनि उसको सुझाव छ ।
व्यवसायीका सुझाव लिँदै गभर्नर अधिकारीले कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा राष्ट्र बैंकले पनि अध्यनलाई अगाडी बढाएको बताए ।महासंघका सुझावहरु सो अध्ययनलाई अगाडि बढाउन थप सहयोगी हुने बताउँदै त्यसलाई सक्दो कार्यान्वयनमा लैजान सहयोग गर्ने पनि अधिकारीले बताए ।